
काठमाडौं, ९ कात्तिक — कालिम्पोङबाट गोर्खा जनमुक्ति मोर्चाका नेता वरुण भुजेलको प्रहरी हिरासतमा मृत्यु भएको छ । उनी गत जुन महिनादेखि प्रहरी हिरासतमा थिए ।

बुधवार सबेरै उनको कोलकातास्थित एक अस्पतालमा मृत्यु भएको थियो ।
उनको मृत्युको विरोधमा कालिम्पोङ एक दिनका लागि बन्द गरिएको थियो ।
भुजेल कालिम्पोङमा गोजमोका पार्षद थिए र पार्टीप्रमुख विमल गुरुङको निकट मानिन्थे । उनलाई जुन १६ मा आगजनी र दंगाको आरोपमा पक्राउ गरिएको थियो ।
त्यतिखेर कालिम्पोङ दार्जीलिङ र खर्साङमा बेग्लै गोर्खाल्यान्ड राज्यका लागि आन्दोलन चलिरहेको थियो ।
पक्राउपछि भुजेललाई सिलिगुडी जेलमा राखिएको थियो । हालैका दिनमा उनको स्वास्थ्य बिग्रेपछि एक स्थानीय अस्पताल लगिएको थियो । त्यहाँ उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि कोलकाता लगिएको थियो ।
चालीस वर्षीय भुजेल कालिम्पोङ नगरका निर्वाचित सदस्य समेत थिए । उनको एक पत्नी र दुई बालबालिका छन् ।
मिडियामा आएका समाचारमा कोलकातास्थित एसएसकेएम अस्पतालका चिकित्सकहरूले भुजेलको मृत्यु कलेजोको समस्या र प्यानक्रियाटाइटिसका कारण भएको बताएको उल्लेख छ ।
‘उनलाई यहाँ ल्याइँदा उनको अवस्था अत्यन्तै गम्भीर थियो र उनलाई सिधै आईटीयूमा भर्ना गरियो,’ मेडिकल सुपरीवेक्षक डा मनिमोए बन्दोपाध्यायले बताए ।
तर गोजमो र भुजेलको परिवारले हिरासतमा यातना तथा राज्य प्रहरीको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रहरीले विभिन्न ठाउँमा छापा मारेर खोजेपछि भूमिगत रहेका विमल गुरुङले कालिम्पोङमा आयोजित श्रद्धाञ्जलि सभामा भिडियो सन्देश पठाएर ‘भुजेलको मृत्यु प्रहरीको यातनाका कारण भएको’ बताए ।
एजेन्सी