
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोअनुसार अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेकी छन् ।
उनले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुण कुमार चौधरीको नाम सिफारिस गरेकी हुन् ।
००००
नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूले पार्टी बुर्जुवाकरण बनेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । पार्टी सरकारमुखी बन्दा जनता माओवादीसँग टाढिएको उनीहरूको भनाइ थियो ।
शुक्रवार सुरु माओवादी पदाधिकारी बैठकमा नेताहरूले पार्टी संसदवादी भासमा फसेको भन्दै आलोचना गरेका हुन् । एक पदाधिकारीका अनुसार बैठकको सुरुमै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी बुर्जुवाकरणको उत्कर्षतिर गएको बताएका थिए ।
गुटगत र व्यक्तिवादले पार्टीलाई गाँजेको भन्दै उनले राम्रो काम गर्नेलाई लात हान्ने गरिएको गुनासो गरे । उनले पार्टीमा हुने आलोचनालाई प्रतिशोधको रूपमा लिने गरिएको गुनासो गरेका ती नेताले लोकान्तरसँग भने ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ सङ्केत गर्दै रूपान्तरणको सङ्कल्प अध्यक्षबाट सुरु हुनुपर्ने बताए । ‘उहाँ लामो समयदेखि पार्टीको अध्यक्ष हुनुहुन्छ, अध्यक्ष सम्हाल्न सक्ने सक्षम व्यक्ति पार्टीमा भए पनि उहाँले छाड्नु हुन्न । नेतृत्व लिन सक्नेले पनि बोल्ने हिम्मत गरेका छैनन्’, श्रेष्ठको भनाइ उदृद्ध गर्दै स्रोतले भन्यो ।
सचिव राम कार्कीले प्रचण्डले मन नपराएको व्यक्ति माओवादीको अध्यक्ष बन्ने अवस्था आउन सक्ने टिप्पणी गरे ।
बैठकपछि भने प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गुमाए पनि माओवादीलाई जनतासँग जाने ऐतिहासिक अवसर आएको बताए ।
‘राम्रो पहलकदमी लिँदालिँदै समीकरण परिवर्तन भयो । यो हाम्रो लागि जनतामा जाने ऐतिहासिक अवसर हो । किनकि जनतासँगको सम्बन्ध कमजोर बनेको थियो । यो सम्बन्धलाई सुदृढ गर्ने अवसर आएको छ,’ सापकोटाले भने, ‘विचारको विकास, संश्लेषण गर्दै विचारको आधारमा राजनीतिक कार्यदिशामा जानुपर्छ । अब सदनमा प्रभावकारी भूमिका खेल्छौं । सदनमा रहनुभएका ३२ जना सांसदलाई गुणात्मक रूपले प्रभावकारी बनाउने, संगठन, जनपरिचालनलाई नितान्त फरक ढंगले अघि बढाउँछौं ।’
००००
नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएर संघमा सरकार बनाएपछि सुदूरपश्चिमबाहेक अन्य प्रदेशबाट माओवादी र एकीकृत समाजवादी सत्ताबाहिर पुगेका छन् ।
सुदूरपश्चिम प्रदेशमा पनि दीर्घ सोडारी नेतृत्वको सरकार ढल्ने सँघारमा छ । अहिलेसम्म माओवादी सरकारमै छ ।
यता कोशीमा भने माओवादी सरकारबाट बाहिरिएको छ । ७१ दिन सरकारका सहभागी भएर माओवादी बाहिरिएको हो । केन्द्रमा नयाँ सरकार बने पनि कोशीमा एमाले र माओवादीकै सरकारमा थियो ।
००००
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएको कुरा गलत भएको बताएका छन् ।
कांग्रेस–एमाले गठबन्धन बन्ने तयारीबिच गत असार १८ गते दाहाल देउवाकोमा गएको समाचार आएको थियो ।
शुक्रवार धुलिखेलमा संसद् विट हेर्ने पत्रकारसँगको अन्तरक्रियामा लोकान्तरले राखेको सवालमा दाहालले देउवाकोमा नगएको स्पष्टीकरण दिएका हुन् । संचारमाध्यममा समाचार आएको बारे आफूलाई वामदेव गौतमले भनेर थाहा पाएको दाहालले दाबी गरे ।
००००
बुधवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जनाको शव आफन्तले बुझेका छन् । शुक्रवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ ।
बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् ।
००००
सौर्य एयरलाइन्सले आफ्नो जहाज दुर्घटनाको तीन दिनपछि औपचारिक विज्ञप्ति जारी गर्दै दुःखद घटना भएको भन्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको छ ।
एयरलाइन्सको तर्फबाट अध्यक्ष दीपककुमार पोखरेलले दुर्घटनामा परी प्रतिष्ठित धेरै विज्ञको क्षति हुनु कल्पना गर्न नसकिने विषय भएको भन्दै सक्दो सहयोग गर्ने घोषणा गरेका हुन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बोलाएको भेलामा पूर्वसभापतिहरूले सहजै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता हस्तान्तरण गर्छन् भन्नेमा आशंका व्यक्त गरेका छन् ।
शुक्रवार काठमाडौंमा भएको सो भेलामा उनीहरूले यस्तो आशंका व्यक्त गरेको नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले लोकान्तरलाई जानकारी दिए ।
कांग्रेसले प्रधानमन्त्री बनाए पनि ओलीले पछि सहयोग नगर्ने हो कि भनेर शंका उत्पन्न भएको केसीले बताए ।
००००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् ।
प्राधिकरणले आफू निजी कम्पनी रहेकोजस्तो व्यवहार गरेको भन्दै मन्त्री खड्काले आपत्ति जनाएका हुन् । शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा उनले प्राधिकरण र त्यसका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि यस्तो आरोप लगाएका हुन् ।
००००
नेपाल वायु सेवा निगममा ९ वर्षसम्म जहाज उडाएका क्याप्टेन सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ । निगममा पाइलटको जागिरका लागि शाहले पेश गरेको आईएससीको ‘सर्टिफिकेट’ नक्कली रहेको पाइएको हो ।
भारत उत्तर प्रदेशको गोरखपुरस्थित माध्यमिक शिक्षा परिषदबाट सन् २००३ मा फस्र्ट डिभिजनमा आईएससी उत्तीर्ण गरेको प्रमाणपत्र उनले निगममा पेश गरेका थिए ।
००००
हत्याको प्रयास भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष जितेन्द्र सोनल, महासचिव डा सुरेन्द्रकुमार झालगायतविरुद्ध किटानी जाहेरी परेको छ ।
लोसपाका पूर्वनेता जयप्रकाश चौधरीले उनीहरूविरुद्ध शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएका हुन् । जाहेरी हुलाकमार्फत पठाइएको भएपनि दर्ता भएको छैन ।
००००
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक मौद्रिक नीतिमा शेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज गरिएको छ ।
पूँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरूले बैंक तथा वित्तीय संस्थाबाट लिने मार्जिन प्रकृतिको ऋणको अधिकतम सीमा खारेज गरिने अधिकारीले बताए ।
यसअघि अधिकतम २० करोडसम्म मात्र लिन पाउने गरी सीमा तोकिएको थियो ।
यस्तै, नीतिगत दर घटाएको छ । गभर्नर अधिकारीले हालको नीतिगत दर ५।५ प्रतिशतलाई ५ मा झारिएको बताए ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ । नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो ।
यसैबीच मौद्रिक नीतिलाई लिएर निजी क्षेत्र खुसी देखिएको छ । कार्यान्वयनका क्रममा थप सहजताको अपेक्षा समेत निजी क्षेत्रले गरेको छ ।
००००
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकपछि कार्यदलका सदस्य जनार्दन शर्माले आफूहरू सहमतिनजिक पुगेको बताए ।
अब सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार पार्ने उनको भनाइ छ ।