२७ जेठ २०८३, बुधबार

डब्लूएचओले भन्योः दक्षिण–पूर्वी एसियामा बढ्दो हेपाटाइटिस सङ्क्रमणको रोकथाम आवश्यक छ

साउन १२, २०८१
काठमाडौं
डब्लूएचओले भन्योः दक्षिण–पूर्वी एसियामा बढ्दो हेपाटाइटिस सङ्क्रमणको रोकथाम आवश्यक छ

नयाँ दिल्ली– विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो  हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ ।  

हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन सङ्क्रमणले  दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ ।  

विज्ञप्तिका अनुसार पछिल्लो समय यस क्षेत्रमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठूलो कारण बनेको छ । हेपाटाइटिस बी र सी सङ्क्रमणले यस क्षेत्रको लगभग ७५ प्रतिशत मानिसहरूको कलेजो फेल हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सन् २०२२ मा यस क्षेत्रका ७०.५ मिलियन मानिसले भाइरल हेपाटाइटिस बी र सी सङ्क्रमण सामना गरिरहेका थिए । 

विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रतिदिन तीन हजार ५०० को मृत्यु हुने र प्रत्येक दिन ६ हजार हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन् । 

कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ । यद्यपि प्रारम्भिक उपचारबाट  हेपाटाइटिस बी र सी सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लूएचओले जनाएको छ । 

डब्लूएचओका अनुसार दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस बी र सी परीक्षण र उपचारको पहुँच कम छ ।  हेपाटाइटिस सङ्क्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरू उच्च जोखिममा छन् । 

‘भाइरल हेपाटाइटिस यस दशकको प्रमुख जनस्वास्थ्य चुनौती हो। तर जनस्वास्थ्यको दृष्टिकोण र स्वास्थ्य क्षेत्रमा विश्वव्यापी लगानीको बृद्धिले सन् २०३० सम्ममा भाइरल हेपाटाइटिसको उन्मूलन सम्भव छ,’ डब्लूएचओकी क्षेत्रीय निर्देशक साइमा बाजेदले भनिन्, ‘आज जीवन बचाउनु र भावी पुस्ताको स्वास्थ्यको रक्षा गर्नु हाम्रो सामुहिक जिम्मेवारी हो ।

salt training

कमेन्ट गर्नुहोस्