
दुवै हातको कुहिनो भन्दा तलको भाग नभएका खोटाङ काउलेका गणेश राईलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयमा राखेका छन् । दुई पटक प्रधानमन्त्री हुँदा आफूसँगै काम गरेका ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा नदेखेपछि उनको खोजी गरेका थिए ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा राईलाई भेटेको ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘दुवै हातको कुहिनो भन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो’, ओलीले फेसबुकमा लेखेका छन्, ‘त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर शुरू भयो। । दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे।’

तर यस पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि आफूले उनलाई खोजेको ओलीको भनाइ छ ।
‘अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ। अब गणेश मसँगै काम गर्ने भएका छन्। उनलाई मेरो तर्फबाट शुभकामना’, ओलीले सिंहदरबारमा मसँगै काम गर्ने गणेश भन्दै फेसबुकमा लेखेका छन् ।