
काठमाडौं उपत्यका नजिकका पर्यटकीय क्षेत्रमा ‘हाइकिङ’ जाने व्यक्तिहरूलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर पदमपोखरीका ५२ वर्षीय धनबहादुर स्याङ्तान छन् ।
खुकुरी देखाएर ज्यान मार्ने धम्की दिँदै लुटपाट गर्दै आएको आरोप स्याङ्तानमाथि छ ।
शनिबार काठमाडौंस्थित नागार्जुन नगरपालिका- ७ स्थित विन्दावासिनी मन्दिर नजिकै जंगलमा हाइकिङ जाँदै गरेका सर्वसाधारणलाई स्याङ्तानले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्याङतानबाट सुनको औँठी ४ वटा, सुनको सिक्री १, सुनको लकेट १, सुनको ब्रासलेट २, कानमा लगाउने रिङ २, चाँदीको ब्रासलेट १, लुटपाटमा प्रयोग भएको खुकुरी २ वटा र १३ हजार चार सय रुपैयाँ बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीका अनुसार स्याङ्तानले अन्य स्थानमा हाइकिङ गर्ने व्यक्तिहरूलाई समेत लुटपाट गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्याङतानलाई स्युचटार सडकखण्डमा आकस्मिक चेक प्वाइन्ट राखेर नियन्त्रणमा लिइएको हो ।
‘स्याङतानले अन्य हाइकिङ क्षेत्रमा पनि सर्वसाधारणलाई लुटपाट गरेको आशंका छ, हामी थप अनुसन्धान गर्दैर्छौं,’ एसपी अधिकारीले भने ।
लुटपाटमा स्याङ्तानसँगै अन्य समूह पनि सक्रिय रहेको हुनसक्ने आशंकापछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको उनले बताए ।