
भारतको तमिलनाडुस्थित विल्लुपुरम जिल्लामा एउटा होटलले २५ रुपैयाँको अचार नदिँदा हजारौं रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने भएको छ । खानामा अचार तिर्न बिर्सिँदा बाला मुरुगन होटलले ३५ हजार जरिवाना तिर्नु पर्ने भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ग्राहकले खाना अर्डर गरेका थिए । सर्भ गर्दा होटलले अचार दिन बिर्सेको थियो । अचार आइपुग्दा ग्राहकले खाना खाइसकेका थिए । यसपछि उजुरी परेको समाचारमा उल्लेख छ ।
बार एण्ड बेन्चको प्रतिवेदन अनुसार उजुरी दिने व्यक्तिको नाम सी अरोकिया सामी हो । नोभेम्बर २०२२ मा उनका मृतक आफन्तको पहिलो पुण्यतिथिका अवसरमा बाला मुरुगन होटलबाट २५ जनालाई खाना अर्डर गरेका थिए ।
अर्डर गर्नुअघि होटलबाट खानेकुराको बारेमा सोधपुछ गरेको र हरेक खानामा अचार पनि उपलब्ध गराइने बताएको थियो । तर, खाना आउँदा अचार नभएको पाइयो ।
उजुरीपछि नियामक निकायले होटल सञ्चालकलाई अचारको २५ रुपैयाँ फिर्ता गर्न र उजुरीकर्तालाई परेको शारीरिक कष्ट र मानसिक पीडाबापत ३० हजार रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।
यसका साथै उजुरीकर्तालाई उक्त मुद्दामा भएको खर्चको ५ हजार रुपैयाँ पनि तिर्न भनिएको छ ।