
सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहप्रशासनसँग छलफल गरेको छ । समितिको सोमबार बिहान बसेको बैठकमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव र प्रहरी प्रमुखसँग छलफल गरिएको हो ।
जारी बैठकमा गृहमन्त्री लेखकसहित गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवर सहभागी छन् ।
यसअघि आइतबार बसेको बैठकले विभिन्न राजनीतिक दलहरूसँग सुझाव लिएको थियो ।
तीन महिनाको समय पाएर गठन भएको संसदीय समितिले सरोकारवालासँगको छलफल अन्तिम चरणमा पुर्याएको छ ।
गोरखा मिडियामा लगानी गरेका सूर्यदर्शन, सुप्रिमलगायत सहकारीको अवस्था बुझ्न र पीडितको कुरा सुन्न समितिका सदस्यहरू पोखरा र बुटवल जाने तयारी छ ।
तत्कालीन सरकारले गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको थियो ।
एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा गठित समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।