
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवं प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताएका थिए ।
साथै सरकारले हालैमात्र कानूनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै पौडेलले नेपालमा लगानी गर्न उनीहरूलाई आग्रह गरेका थिए ।
नेपालमा जापानको निःशर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको उनले बताए ।
नेपाल जापानबीचको सम्बन्ध जनस्तरमा समेत सुदृढ रहेको उनको भनाइ थियो ।
उनले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मञ्चहरूमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उनले बताए ।
खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।
नेपाली विद्यार्थीहरूले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उनले सन्तोष प्रकट गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरूले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थियो ।
उनीहरूले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमा प्रविधि सिकेर नेपाल नै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताएका थिए ।
नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकाहरूलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन प्रतिनिधिमण्डलको सुझाव थियो ।
त्यस्तै उनीहरूले आर्थिक गतिविधिका लागि राजधानी काठमाडौं बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रित गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यही गएर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।