
भोजपुर नगरपालिका–९ काफ्ले हुँदै वडा नम्बर १० भैसिपङ्खा जोड्ने काफ्ले–महभिर–खुरिला–मिलन चोक सडक स्तरोन्नति भएसँगै स्थानीयमा उत्साह छाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को शहरी विकास मन्त्रालयमार्फत विनियोजित बजेटबाट ग्रामीण सडक स्तरोन्नति गरिएको हो । एक करोड १० लाखमा सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको स्थानीय सविना राईले बताइन् ।
निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत सडक निर्माण भएको हो ।
काफ्ले–महभीर–खुरिलादेखि नोरपायासम्म सविन निर्माण सेवा नामक कम्पनीले ८० लाखको लागतमा सडक स्तरोन्नति गरेको हो ।
उपभोक्ता समितिमार्फत ३० लाख लागतमा मिलन चोकदेखि असिनेसम्मको सडक स्तरोन्नति गरिएको भोजपुर नगरपालिका–१० का वडाध्यक्ष सुविन राईले जानकारी दिए ।
वडाध्यक्ष राईका अनुसार सडक चौडा गर्ने, खोला क्षेत्रमा कजवे निर्माण, सोलिङ, ढलान, पर्खाल लगाउनेलगायतका काम गरिएका छन् ।
मिलन चोक क्षेत्रबाट करिब दुई सय मिटर सडक ढलान भएको छ । यस्तै, महभीर खोला, काल्चे खोला, खुरिला खोला साछिम खोलालगायतका क्षेत्रमा कजवे निर्माण गरिएको छ ।
साँघुरो तथा सानो सडकका कारण समस्या हुने गरेको अवस्थामा अब सवारी साधन सहजरूपमा सञ्चालन हुने स्थानीय ज्ञानबहादुर राईले बताए ।
सडक स्तरोन्नतिले कृषि उपज व्यापारमा सहज हुने राईको भनाइ छ ।
ट्याक्टर, मोटरसाइकलसमेत नचल्ने अवस्थाको सडक स्तरोन्नति हुँदा स्थानीयका लागि सुविधा भएको स्थानीय लक्ष्मी राईले बताए ।
'नाम्लो र डोकोको भरमा स्थानीयस्तरमा उत्पादित सामग्रीहरू हाट बजारसम्म पुर्याउनुपर्ने अवस्थामा अब सडक बनेपछि सहज भएको छ,' उनले भने ।