
दक्षिण अमेरिकी देश भेनेजुएलामा भर्खरै सम्पन्न राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति निकोलस मादुरो पुनः विजयी भएका छन् । यस परिणामसँगै भेनेजुएलामा २५ वर्षदेखि चलिरहेको समाजवादी शासन निरन्तर रहने भएको छ ।
मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय निर्वाचन परिषद्ले मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गरेको छ ।
निर्वाचन परिणामअनुसार प्रमुख प्रतिद्वन्द्वी एडमुन्डो गोन्जालेजले ४४ प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचनमा देखिएको रुझानविपरीत यस्तो यो परिणाम आएको हो । केही एक्जिट पोलहरूले गोन्जालेज विजयी हुने पूर्वानुमान गरेका थिए ।
निर्वाचन परिणामसँगै मतदाताहरूले चुनावको पारदर्शितामाथि प्रश्न उठाउन थालेका छन् ।
प्रमुख विपक्षी दलकी नेतृ मारिया कोरिना मचाडो चुनावमा भाग लिनबाट वञ्चित भएपछि गोन्जालेज विपक्षी दलहरूको गठबन्धनका साझा उम्मेदवार बनेका थिए ।
उनको हारसँगै भेनेजुएलाको राजनीतिमा नयाँ अध्यायको शुरूआत भएको छ । विपक्षी दलहरूका लागि आगामी दिनहरूमा थप चुनौतीपूर्ण हुने देखिन्छ ।
मादुरो पुनः निर्वाचित हुनुको अर्थ
मादुरो पुनः निर्वाचन हुनुको अर्थ भेनेजुएलामा राजनीतिक स्थिरता कायम रहने संकेत गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तर मादुरोले देशको गम्भीर आर्थिक संकटलाई समाधान गर्ने वा विपक्षी दलहरूसँगको तनावपूर्ण सम्बन्ध सुधार गर्नेछन् भन्नेमा भने प्रश्न उठेका छन् ।
मादुरोकै असफलताका कारण यतिबेला भेनेजुएला मुद्रास्फीति अत्यधिक बढेको छ, खाद्यान्न र इन्धनको चरम अभाव छ र लाखौँ नागरिक देश छोडेर गएका छन् । यस अवस्थामा मादुरो सरकारले कसरी आर्थिक पुनरुत्थान गर्ने र जनताको जीवनस्तर सुधार गर्ने भन्ने प्रश्न अझै ज्वलन्त छ ।
विवादित निर्वाचन !
चुनावको परिणाम सार्वजनिक भएपछि विपक्षी दलहरूले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । उनीहरूले मतगणना प्रक्रियामा पारदर्शिता नभएको, मतदाताहरूमाथि दबाब दिएको र मतदान केन्द्रहरूमा अनियमितता भएको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि चुनावमा केही कमजोरीहरू औंल्याएका छन् ।
अन्तर्राष्ट्रिय समुदायले भेनेजुएलाको चुनावको परिणामलाई लिएर फरक-फरक प्रतिक्रिया दिएका छन् ।
केही देशहरूले चुनावलाई स्वीकार गरेका छन् भने केही देशहरूले चुनावमा धाँधली भएको भन्दै चिन्ता व्यक्त गरेका छन् र परिणामलाई अस्वीकार गरेका छन् ।
अमेरिका लगायतका पश्चिमी देशहरूले मादुरोको सरकारलाई गैरकानुनी घोषित गर्दै आएका छन् र उनलाई मान्यता दिएका छैनन् ।
मादुरोको पुनः निर्वाचनसँगै भेनेजुएलाको भविष्य अझै अनिश्चित बनेको छ । आर्थिक संकट, राजनीतिक ध्रुवीकरण र अन्तर्राष्ट्रिय दबाबजस्ता चुनौतीहरूका बीच मादुरोले देशलाई कसरी अघि बढाउनेछन्, यो हेर्न बाँकी नै छ ।
अमेरिकाले भेनेजुएलामाथि लगाएको आर्थिक प्रतिबन्धले देशको आर्थिक अवस्था झनै जटिल बनाएको छ । यसले मानवीय संकट झनै गहिरिएको छ बहने देशको विकासलाई अवरुद्ध पारेको छ । मादुरो सरकारले यी प्रतिबन्धहरूलाई देशको आर्थिक संकटको कारण बताउँदै आएको छ ।