
सरकारले एकैपटक राजदूतको सिफारिस, सचिवको सरुवा र प्रदेश प्रमुखको नियुक्तिसम्मका निर्णय गरेको छ । जसअनुसार सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
निर्णयअनुसार भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै बेलायतमा चन्द्रप्रसाद घिमिरे,चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल,
इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलमा प्रकाशमणि पौडेलको नाम राजदूतमा सिफारिस भएको छ ।
यस्तै पाकिस्तानमा रिता धिताल, अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल तथा मलेसियामा नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ ।
सरकारी निर्णयअनुसार चीनसहित पाँच वटा देशबाट राजदूत फिर्ता बोलाइएको छ। मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरु सरकारको प्रवक्ताले २४ घण्टापछि औपचारिक रुपमा सार्वजनिक गर्नेछन् ।
यस्तै बैठकले २२ जना सचिवको सरुवाको गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको लेखकले जानकारी दिए । उनका अनुसार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिए ।
नयाँ निर्णयअनुसार कर्णालीमा यज्ञराज जोशी, लुम्बिनीमा कृष्णबहादुर घर्ती र बागमतीमा दीपकप्रसाद देवकोटालाई चयन गरिएको छ ।