
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए ।
शुक्रबारदेखि शुरू भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका हुन् ।
नेताहरूले उठाएको प्रश्नको आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ ।
पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवं सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरूले धारणा राखेका थिए ।
नेताहरूको धारणालाई संश्लेषण गरेर अध्यक्ष प्रचण्डले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ।