
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
केपी ओली नेतृत्वको सरकार व्यापक सरुवा र नियुक्तिमा लागेको छ। सरकारले मन्त्रिपरिषदबाट एकैपटक राजदूत सिफारिस, सचिवको सरुवा र प्रदेश प्रमुखको नियुक्तिसम्मका निर्णय गरेको छ । जसअनुसार सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । निर्णयअनुसार भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै बेलायतमा चन्द्रप्रसाद घिमिरे,चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलमा प्रकाशमणि पौडेलको नाम राजदूतमा सिफारिस भएको छ ।
यस्तै पाकिस्तानमा रिता धिताल, अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल तथा मलेसियामा नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ ।
सरकारी निर्णयअनुसार चीनसहित पाँच वटा देशबाट राजदूत फिर्ता बोलाइएको छ। मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरु सरकारको प्रवक्ताले २४ घण्टापछि औपचारिक रुपमा सार्वजनिक गर्नेछन् ।
यस्तै बैठकले २२ जना सचिवको सरुवाको गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको लेखकले जानकारी दिए । उनका अनुसार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिए ।
नयाँ निर्णयअनुसार कर्णालीमा यज्ञराज जोशी, लुम्बिनीमा कृष्णबहादुर घर्ती र बागमतीमा दीपकप्रसाद देवकोटालाई चयन गरिएको छ ।
००००
सर्वोच्च अदालतले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा दीपककुमार खराललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले खराललाई सोमबार उक्त जरिवानाको आदेश गरेको हो।
अदालतले माग गरेको आदेश अनुसारको फाइल पेस नगरेको भन्दै उनलाई जरिवाना गर्ने आदेश गरेको हो ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरुमाथि जवाफ दिने कार्यक्रम रहेको सापकोटाले जानकारी दिए ।
००००
प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।
आजका लागि बोलाइएको बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।
००००
गत जेठ २८ गतेदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ । अन्य ४७ जना बेपत्ता रहेका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।
००००
लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ ।
तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ ।
आयोगका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीले आफ्नो छोरी विमला शाहीलाई लोक सेवाको परीक्षा उत्तीर्ण गराउन उत्तरपुस्तिकामा केरेमेट गरी अंक थपेको पाइएको हो ।
नेपाल वायु सेवा निगममा सेवा प्रवेश गर्न २०७६ सालमा विमलाले दिएको परीक्षाको उत्तरपुस्तिकामा बुवा मिमबहादुरले केरमेट गर्नुका साथै अंक थपिदिएको पाइएको हो ।
००००
दक्षिण एसियामा मोनरो डक्ट्रिनको बहस तथा नेपालीको राष्ट्र प्रेमलाई कच्चा राष्ट्रवाद (नेसनालिजम) भनेर रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर संसदमा एमाले सांसदले आपत्ति जनाएका छन् ।
वाग्लेको अभिव्यक्तिमा नेपाललाई भुटानीकरण गर्ने आशय झल्किएको आरोप उनले लगाए ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले देशभक्तलाई अपमान गर्ने गरी स्वर्णिमले कच्चा राष्ट्रवादको वकालत गरेको भन्दै आपत्ति जनाएका हुन् । यस विषयमा संसद्ले अध्ययन गर्नुपर्ने सांसद पन्तले बताए ।
००००
सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिले रकम अपचलन गरेर विदेशमा रहेका १८ व्यक्तिलाई नेपाल ल्याउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ।
समितिको सोमबार बसेको २३ औं बैठकमा सभापति सूर्य थापाले विदेशमा लुकेर बसेका सहकारीका पदाधिकारीलाई नेपाल ल्याउनका लागि पहल थाल्न गृहमन्त्री लेखकलाई निर्देशन दिएका हुन् ।
००००
आइतबार उच्च वृद्धि भएको शेयर बजार परिसूचक नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
१९ अर्ब माथिको कारोबार हुँदा नेप्से परिसूचक २०.४६ अंकले गिरावट आएर २६६१ दशमलव ६१ अंकमा कायम भएको छ ।
००००
मिस माल्टा चेरिस स्पिटेरी नेपाल आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत् काठमाडौं ओर्लिएकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डको टोलीले स्वागत गरेको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गरिएको थियो ।
टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा माल्टा फर्किनेछ।