
लन्डन– बेलायतमा सोमबार नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौजना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा छुरा प्रहारको खबर प्राप्त गरेको बताएको हो ।
मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये ६ जना बालबालिका र दुईजना वयस्कको अवस्था गम्भीर रहेको बताए ।
आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ ।
‘आक्रमणमा घाइते भएका वयस्कहरूले बहादुरीपूर्वक बच्चाहरूलाई जोगाउन खोजिरहेका थिए । यसका बीच दुई बालबालिकाको ज्यान जोगिएन,’ केनेडीले सोमबार साँझ पत्रकार सम्मेलनमा भने ।
आपतकालीन सेवाहरूलाई लगभग ११ः५० को स्थानीय समयमा शहरमा ‘ठूलो घटना’ भएको खबर आएको थियो । घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको छ ।
‘अनुसन्धान प्रारम्भिक चरणमा छ र घटनाको कारण अस्पष्ट छ,’ केनेडीले भने । यो घटना आतङ्कवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो ।
उक्त आक्रमण ‘हरर फिल्मको दृश्य’जस्तै भएको घटनाबारे प्रहरीलाई खबर गर्ने स्थानीय व्यवसाय मालिक कोलिन पेरीको भनाइ छ ।
साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई ‘ठूलो घटना’ घोषणा गरेको सीएनएनले जनाएको छ ।
‘ट्रस्टले यस घटनाको जवाफ दिन अन्य आपतकालीन सेवाहरूसँग सहकार्य गरिरहेको छ र हाम्रा आपतकालीन विभाग हाल अत्यन्त व्यस्त छ,’ अस्पतालको वेब साइटमार्फत प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
बेलायतका राजा चार्ल्स र उनकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताए ।
‘साउथपोर्टमा भएको भयानक घटनाको खबर सुनेर मेरी श्रीमती र म स्तब्ध भएका छौँ,’ राजा चार्ल्सले सोमबार शाही परिवारको आधिकारिक सामाजिक सञ्जालमार्फत साझा गरेको विज्ञप्तिमा भनिएको छ ।
बेलायतका प्रधानमन्त्री किर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको बताएका छन् ।