
भक्तपुरको सूर्यविनायक नगरपालिका‐ ५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् ।
गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको रु ३० लाखभन्दा बढी क्षति भएको छ ।
मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो ।
घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ ।
साथै टोलमा रहेको नौ वटा गाडी र २० भन्दा बढी मोटरसाइकलसमेत पूरै डुबेर क्षति पुगेको छ ।
स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताइन् । उनले घरमा रहेका गाडी, मोटरसाइकल र अन्य सामानहरूमा क्षति पुगेको तथा लाखौंको क्षति पुगेको बताइन् ।
स्थानीय कला थापाले मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि परिवार नै सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको बताइन् ।
यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्याएको हो ।
कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ ।