
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति अन्तिम चरणमा पुगेका बेला सूचीमै नभएका पूर्व प्रबन्ध निर्देशक डिल्ली अधिकारीले अस्वाभाविक दौडधूप गरिरहेका छन् ।
भ्रष्टाचारको मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतले दोषी ठहर गर्दै जरिवानासहित कैद सजाय तोकेपछि रिक्त पदमा नियुक्ति हुन लागेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार १७ जना आवेदकको अन्तर्वार्ता र प्रस्तुतीकरण भइसकेको छ, तर मन्त्रालयले नतिजा भने प्रकाशित गरेको छैन ।
ती १७ आवेदकमध्ये अधिकारी छैनन् । तर, उनले अहिले अन्तिम चरणमा पुगेको प्रक्रिया रद्द गर्ने र आफू नै एमडी बन्ने गरी चलखेल गरिरहेको विश्वस्त स्रोतको दाबी छ ।
मन्त्रालयकै अर्का एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'मन्त्रालयमाथि उनले (अधिकारीले) नतिजा ननिकाल्न निरन्तर दबाब दिइरहेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पालामा शुरू भएको प्रक्रिया अब नयाँ सरकारले किन अघि बढाउने ? भन्ने उनको तर्क रहन्छ ।'
नयाँ सत्ता गठबन्धन बनाउने गरी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सहमति भएकै दिन मन्त्रालयले आवेदकहरूलाई अन्तर्वार्तामा बोलाएको थियो ।
नियुक्तिका लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिश गर्न अन्तर्वार्ता र व्यावसायिक कार्यायोजनाको प्रस्तुतीकरणको तालिका प्रकाशित भएको थियो ।
तालिकाअनुसार अन्तर्वार्ता र प्रस्तुतीकरण सम्पन्न भइसकेको छ ।
हेर्नुहोस् सूची :

असफल पूर्वएमडी अधिकारी
अधिकारी यसअघि टेलिकमको प्रबन्ध निर्देशक भइसकेका व्यक्ति हुन् ।
२०७५ सालको पुस २२ गते प्रबन्ध निर्देशक भएका अधिकारीले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर २०७८ को पुस २३ गते टेलिकम छाडेका थिए ।
वार्षिक १७ अर्ब खुद आम्दानी रहेको टेलिकमको कमाई उनले नेतृत्व गरेपछि ७ अर्बमा झरेको थियो । तीन वर्षे कार्यकालमा टेलिकमलाई झन्डै धराशायी बनाएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
यसका अलावा भ्रष्टाचार गरेको आरोपमा अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।
छानबिनका क्रममा अधिकारीकी पत्नी इन्दु ढकालको नाममा रहेको हिमालयन बैंक ठमेलको खाता नम्बर ००१००९९४२८०*** मा ओसन टेक्नोलोजी लिमिटेड जापानबाट मासिक २ हजार ९२४ अमेरिकी डलर जम्मा हुने गरेको भौचर पनि फेला परेको अख्तियार स्रोतको दाबी छ ।
पदीय दुरुपयोग गरेर अधिकारीले आठौं तहको कर्मचारी हुँदा नै नेपाल-जापानबीच हुने अन्तर्राष्ट्रिय कलको ट्यारिफ रेट हेरफेर गरी जापानिज कम्पनी ओसन टेक्नोलोजी लिमिटेडलाई फाइदा पुर्याएको आरोप उनीमाथि छ ।
अख्तियारले जापानिज कम्पनीले अधिकारीपत्नी ढकालको बैंक खातामा मासिक २ हजार ९२४ डलर पठाएको भौचर फेला पारेको हो ।
यस विषयमा सोध्दा अधिकारीले लोकान्तरसँग भने, 'यो १२/१३ वर्षअघिको कुरा हो । अख्तियारले छानबिन गर्दैछ, छानबिन भइरहेकाले यसमा धेरै बोलिरहनु परेन । तर, यो बिल्कुल झुटो हो । ममाथि लगाइएको निराधार लान्छना हो ।'
अधिकारीकै भनाइअनुसार उनी त्यतिबेला टेलिकमको इन्टरनेसनल बिजनेस प्रमुखको जिम्मेवारीमा थिए ।
त्यतिबेलै दुई देशबीच इन्टरनेसनल इन्कमिङ कलको आम्दानी बाँडफाँड सम्झौता भएको थियो ।
टेलिकमका एक कर्मचारी भन्छन्, 'उक्त सम्झौताले टेलिकमको करोडौं आम्दानी डुबेको थियो ।'
भारतीय कम्पनी रुट मोबाइललाई ए२पी दिँदा भ्रष्टाचार
अधिकारीको ३ वर्षे कार्यकालमा ए२पी (एप्लिकेसन टू पर्सन) म्यासेजिङ सेवा आफूखुसी भारतीय कम्पनीलाई दिएको आरोप पनि लागेको छ । यसबारे अर्को उजुरी पनि अख्तियारमा अनुसन्धानकै क्रममा छ ।
भारतको रुट (route) कम्पनीलाई अधिकारीले ठेक्का दिएका थिए । त्यसमा पनि करोडौंको स्वार्थ रहेको टेलिकमकै कतिपय कर्मचारीहरू बताउँछन् ।
यसबारे प्रश्न गर्दा अधिकारीले भने, 'पहिला ए२पी फ्री थियो, टेलिकमले राजस्व गुमाइरहेको थियो । त्यसपछि एउटा कम्पनी आयो । त्यसको मोनोपोली बढ्न थालेपछि प्रतिस्पर्धात्मक रूपमा उक्त सेवालाई अघि बढाउन भारतको रुट कम्पनीसँग सम्झौता गरिएको हो । त्यसमा कुनै व्यक्तिगत स्वार्थ छैन ।'
यस विषयमा परेको उजुरी छानबिनकै क्रममा रहेको अख्तियार स्रोतले जनाएको छ ।
'नमस्ते पे' मा पनि स्वार्थ
अधिकारी 'नमस्ते पे' मोबाइल वालेटमा पनि भ्रष्टाचार गरेको आरोपमा मुछिएका छन् । उक्त वालेट २०७८ को भदौमा सञ्चालनमा आएको थियो ।
टेलिकमकै सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीमार्फत शुरू गरिएको नमस्ते पे बनाउन भारतको कमभिभा कम्पनीलाई ठेक्का दिइएको थियो ।
कमभिभाले ९ असोज २०७७ मा नमस्ते पेको ठेक्का पाएको थियो । जबकि उक्त भारतीय कम्पनीको वित्तीय प्रस्ताव ६ कम्पनीमध्ये चौथो नम्बरमा थियो ।
यसबारे पनि अख्तियारले छानबिन गरिरहेको स्रोतको दाबी छ ।
आफूमाथि लागेका आरोपबारे अधिकारी भन्छन्, 'म पहिला एमडी हुँदा पनि यस्ता खाले आरोपहरू आइरहेका थिए । अख्तियारमा उजुरी हाल्ने गिरोह नै छ । अहिले म न टेलिकमको एमडी हुन हिँडेको छु, न मेरो नाम १७ जना आवेदकमध्ये कहीँ छ, तर पनि यस्ता आरोपहरू आई नै रहेका छन् ।'
उनले आफू रेसमा नरहेको दाबी गरे पनि नियुक्तिका लागि निकै अगाडि बढिसकेको प्रक्रिया रद्द गराउन चलखेल गरिरहेको स्रोतको दाबी छ ।