
गएराति परेको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीले काठमाडौं उपत्यकाका केही ठाउँहरू डुबानमा परेका छन् ।
लगातारको वर्षासँगै बागमती, हनुमन्ते, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा आएको बाढीले आसपासमा क्षेत्रमा बाढी पसेको हो । गएराति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको थियो । बिहानैदेखि भने घाम लागेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार बाढीले ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा पानी पसेको छ । च्यासल फुटबल ग्राउण्डमा पनि पानी पसेको उनले जानकारी दिए ।
यस्तै, सानेपा बल्खुदेखि शंखमुलसम्म करिडोरको सडक एरिया बागमती खोला पसेको छ । इमाडोल कृष्ट अस्पताल आसपास डुबान परेको उनले बताए ।

शंखमुल पार्क, सर्मिक कान्ति कलेज, ननस्टप बसपार्कमा बागमती खोला पसेको उनले जानकारी दिए ।
तार्केश्वरको नगरपालिकामा पहिरोले घरको ढोका पुरिएको छ ।
बाढीमा फसेका केही उद्धार गरिएको उनले बताए । उनका अनुसार यूएन पार्कबाट १ पुरुष १ महिलागरी २ जनाको उद्धार गरिएको छ । सुन्दरीघाटबाट ४ पुरुष ४ महिला जम्मा ८ जनाको उद्धार गरिएको छ ।

यसैगरी बालकुमारी पुल मुनिबाट १ जना पुरुषको उद्धार गरिएको उनले बताए ।
लिलतपुरको महालक्ष्मी-७ चागॉथलीबाट २ बालक, २ महिला, ३ पुरुष गरी ७ जनाको उद्धार गरिएको छ ।