१० साउन २०८३, आइतबार

अमेरिकाका पूर्वराष्ट्रपति केनेडीसम्बन्धी फाइल सार्वजनिक

कात्तिक २०, २०७४
अमेरिकाका पूर्वराष्ट्रपति केनेडीसम्बन्धी फाइल सार्वजनिक

काठमाडौं, १० कात्तिक — अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी धेरै फाइलहरू सरकारले सार्वजनिक गरेको छ । यससम्बन्धमा लगभग ३२ सय गोप्य दस्तावेज रहेकोमा २८ सय ९१ वटा बिहीवार सार्वजनिक भएका हुन् ।


राष्ट्रपति डोनल्ड ट्रम्पले स्वीकृति दिएपछि यी फाइलहरू सार्वजनिक भएका हुन् । सन् १९६३ को नोभेम्बर २२ मा केनेडीको हत्या भएको थियो ।

सन् १९९२ मा जेएफके असासिनेसन रेकर्ड्स कलेक्सन एक्ट १९९२ को अनुपालन हुने गरी यी फाइलहरू अमेरिकी नेसनल अर्काइभहरूले सार्वजनिक गरेको हो । उक्त ऐनले २५ वर्षभित्र कागजात सार्वजनिक गर्न लगाएको थियो र त्यो म्याद बिहीवार सकियो ।

उक्त कानून कंग्रेसले अनुमोदन गरेर तत्कालीन राष्ट्रपति जर्ज एचडब्ल्यु बुशले त्यसमा हस्ताक्षर गरेका थिए । केनेडी हत्यासँग जोडिएका षड्यन्त्र सिद्धान्तलाई चिर्नका लागि उक्त कानून बनाइएको थियो ।

अमेरिकी जासूसी संस्था सीआईए तथा अन्य नियोगले यो सूचना सार्वजनिक गर्न मानिरहेका थिएनन् । यसकारण राजनीतिकर्मी र सामान्य अमेरिकीहरूमा विवादको स्थिति आएको थियो ।

सार्वजनिक हुन बाँकी कागजातलाई ६ महिनाको समीक्षा प्रक्रियापश्चात् सन् २०१८ को अप्रिल २६ मा बाहिर ल्याइनेछ ।

केनेडीलाई टेक्सस राज्यको डल्लासमा गोली हानी हत्या गरिएको थियो । उनलाई ली हार्वे ओस्वाल्ड नामक व्यक्तिले गोली हानेका थिए ।

तर हत्यासम्बन्धी अनेकौं षड्यन्त्र सिद्धान्तहरू छन् । सीआईएले वा अमेरिकी सरकारका अन्य तत्त्व, क्युबाका नेता फिडेल क्यास्ट्रो, माफिया, इजरायली जासूस तथा अन्य थुप्रै संस्थाले केनेडीको हत्याको षड्यन्त्र रचेको मानिसहरू विश्वास गर्छन् ।

ओलिभर स्टोनले सन् १९९१ मा सार्वजनिक गरेको फिल्म जेएफकेले सीआईएलाई दोषी देखाएपछि सन् १९९२ को कानून बनेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्