०६ साउन २०८३, बुधबार

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँः अर्थमन्त्री पौडेल

साउन २०, २०८१
काठमाडौं
राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताएका छन् । 
आज भैसेपाटीस्थित मन्त्री निवासमा अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पारे । 

“अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही हो । लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनाएका छन् । राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था अब हामी आउँन दिँदैनौं भन्ने सन्देश दिएका छौँ”, उनले भने, “निजी क्षेत्रलाई उत्साहित भएर उत्पादनमा, लगानीमा केन्द्रित हुनका निम्ती सरकारले प्रोत्साहित गर्छ । सरकारले अविभावकको भूमिका निर्वाह गर्छ भन्ने अनुभूति दिलाउन चाहान्छौँ ।”

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर स्थिर सरकार गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब निजी क्षेत्रले भरोसायोग्य अविभावक पाएको बताए । अर्थतन्त्रमा समस्या देखिएका हरेक क्षेत्रलाई मिहीनढङ्गले विश्लेषण गरेर त्यसको समाधान खोजिने पनि उनको भनाइ छ ।

“नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नका निम्ती अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती समस्यमा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो”, पौडेलले भने, “शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै सम्बाहक पक्षलाई त्यहाँ रहेको समस्यामै प्रवेश गरेर समाधान खोज्न हामी केन्द्रित हुनुपर्नेछ ।”

कतिपय आर्थिक सूचकहरु नकारात्मक रहेको उल्लेख गर्दै उनले समग्र मागमा न्यूनता आएको, राष्ट्रिय उत्पादन घटिरहेको र  त्यसको प्रभाव रोजगारीमा परेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्