
बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती सोनारी–६ र ७ तथा नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेका छन् ।
आज उक्त क्षेत्रको अवलोकन तथा जनताको गुनासो सुन्न पुगेका सङ्घीय सांसद सूर्य ढकालसँग डुबान प्रभावित क्षेत्रका नागरिकले यस वर्ष तटबन्ध निर्माण नभए ठूलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गरेका थिए ।
तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ ।
अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्ती सोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताए ।
'विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ,' यादवले भने, 'ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।'
दुई वर्षदेखि निरन्तर तटबन्धको माग गर्दै आए पनि निर्माण कार्यमा कसैले चासो नदिएको नरैनापुर–६ का अगुवा सोहनलाल यादवले बताए ।