
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले, सार्वजनिक तथा व्यावसायिक स्थल सजावटका लागि राखिने वत्ती व्यवस्थापन गर्न मार्गनिर्देशन तर्जुमा गर्ने निर्णय गरेको छ । समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले, सजावटका रुपमा राखिने बत्तीको प्रभाव अध्ययन कार्यदलले दिएको प्रतिवेदन र शिफारिसका आधारमा मार्गनिर्देशन बनाउने निर्णय गरेको हो । वैशाख २५ गते बसेको समितिको बैठकले सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन गरेको समितिले ज्येष्ठ २४ गते प्रतिवेदन बुझाएको थियो ।
सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर र यसले जनस्वास्थ्य, वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरुको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असरमा अध्ययन केन्द्रीत थियो । बत्तीले मानव दृष्टि (आँखा) मा पार्ने असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतासँग यस्ता बत्तीको सम्बन्ध अध्ययनको विषय थियो ।
यस्ता बत्तीहरु सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारालगायत सार्वजनिक स्थल तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यावसायिक स्थानमा धेरै प्रयोग देखिन्छ ।