१७ असार २०८३, बुधबार

सेन्टिमेन्टको आधारमा उछालिएको शेयर बजार रियालिटीमा झर्‍यो : विश्लेषक

साउन २२, २०८१
काठमाडौं
सेन्टिमेन्टको आधारमा उछालिएको शेयर बजार रियालिटीमा झर्‍यो : विश्लेषक
फाइल फोटो

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरणबाट नयाँ सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने भनेपछि शेयर बजारमा निरन्तर उछाल देखियो । पौडेल विगतमा अर्थमन्त्री बन्दा पनि उनलाई शेयर बजारले रुचाउँदै आएको छ ।

यही साउन २ गते बुधबार शेयर बजारमा ११ अर्ब बढीको कारोबार भयो । उक्त कारोबार रकम करिब तीन वर्षपछिको र १० अर्ब बढीको कारोबार हो ।

साउन २ गते अघि २०७८ भदौ २० गते ११ अर्बको कारोबार भएको थियो ।

त्यसपछि शेयर बजारमा १० अर्ब नछुने गरी कारोबार भइरह्यो । तर गत साउन २ गतेदेखि अहिले निरन्तर शेयर बजारको कारोबार तीव्र रूपमा बढिरहेको छ ।

साउन २ गतेदेखि आजको १४५ अङ्कको गिरावट हुँदासम्म अर्थात् साउन २१ गतेसम्म शेयर बजारमा २ खर्ब ४३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ । कुल १४ कारोबारका दिनमै २ खर्ब ४३ अर्ब रुपैयाँको शेयर खरिद-बिक्री भएको देखिन्छ ।

आज मङ्गलबार मात्रै शेयर बजारमा हालसम्मकै उच्च कारोबार देखियो । जुन यसअघिको २१ अर्ब ९१ करोडको कारोबारलाई आज २३ अर्ब ७१ करोड ६७ करोड रुपैयाँको कारोबारले तोडेको हो । यसअघि गत साउन १६ गते मात्रै शेयर बजारले ३ वर्षअघिको अधिकतम कारोबारको रेकर्ड तोडेको थियो ।

आज १४५ अङ्कले घटेको बजार स्वाभाविक रहेको शेयर विश्लेषक गोपाल भट्ट बताउँछन् । उनका अनुसार आर्थिक गतिविधिबिना सेन्टिमेन्टको भरमा बढेको शेयर बजार फेरि रियालिटीमा झरेको हो । 

विश्लेषक भट्ट भन्छन्, ‘आज नेप्सेमा देखिएको गिरावट स्वाभाविक हो । लगानी कर्ताहरूले नाफा बुक गरेको कारणले पनि बजार घटेको हो । अर्को कारण भनेको मानसिकता पनि हो । यसका साथै कम्पनीहरूको वार्षिक प्रतिवेदन हो । शेयर बजार बढ्नुमा आधार थिएन त्यसैले अब घट्छ ।’​​

सेन्टिमेन्टको आधारमा बढ्ने बजारको असर नकारात्मक पर्ने उनको दाबी छ ।

‘गत असारदेखि बढ्दै गइरहेको शेयर बजारमा कुनै आधार छैन । यो शेयर बजार बढ्नुको कारण भनेको सेन्टिमेन्ट मात्रै हो । सेन्टिमेन्टको आधारमा बढ्ने शेयर बजारले नकारात्मक नै असर गर्छ । आर्थिक गतिविधि बढेकै छैन । निजी क्षेत्रको अवस्था जस्ताको त्यस्तै छ,' विश्लेषक भट्टले लोकान्तरसँग भने ।

भट्टका अनुसार अहिलेको शेयर बजार सेन्टिमेन्टकै आधारमा बढेको हो ।

'अर्थमन्त्री विष्णु पौडेल बन्ने बित्तिकै शेयर बजार बढ्यो । अर्थमन्त्रीमाथि विश्वास हुनु राम्रो हो । मौद्रिक नीतिले सहजीकरण गर्छ भनेर पनि बजारको उछाल कायम रह्यो । तर मौद्रिक नीतिले सोचेजस्तो सहजीकरण गरेन । तर पनि केही दिनसम्म शेयर बजार बढ्यो,' उनले भने ।

एकैदिन १४५ अङ्कले घट्नु सेन्टिमेन्ट नै रहेको उनले बताए । 'शेयर बजार कहिलेसम्म बढ्ने भन्ने प्रश्न पनि आउँछ । बिनाआधार बढ्नेभन्दा आज १४५ अङ्कले घट्नु पनि एक सङ्केत हो । आज न भोलि शेयर बजारलाई जति माथि उछाल आए पनि तल अवश्य झर्छ । किनभने यो उछालमा आर्थिक पक्ष संलग्न छैन । केबल सेन्टिमेन्टकै आधारमा बढिरहेको छ,' विश्लेषक भट्टले भने ।

salt training

कमेन्ट गर्नुहोस्