
ढाका– बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गरेका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ ।
विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेपछि उनले ‘स्वतन्त्र निर्वाचन’को पनि आह्वान गरेका छन् । ‘यदि बङ्गलादेश र यहाँका जनतालाई मेरो आवश्यकता छ भने म नेतृत्व लिन तयार छु,’ उनले भनेका छन् ।
७६ वर्षीया हसिना सन् २००९ देखि सत्तामा थिइन् तर उनीमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उनको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।
अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमवार एक हेलिकप्टरमा सवार भएर भागिन् ।
सेना प्रमुख जनरल वेकर–उज–जमानले सोमवार सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै अब ‘हिंसा रोक्ने समय’ आएको बताए ।
राष्ट्रपतिले मङ्गलवार संसद् भङ्ग गरेका छन् । विद्यार्थी नेताहरू र प्रमुख विपक्षी बङ्गलादेश नेशसनल पार्टी (बीएनपी)ले संसद् भङ्ग गर्न र तीन महिनाभित्र निर्वाचन गर्न माग गरेका थिए ।