
मोरङमा वैदेशिक रोजगारीका नाममा हुने ठगी बढिरहेको छ । रोजगारीका लागि विदेश जाने र जान खोज्नेहरू ठगीमा पर्ने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ ।
गएको आर्थिक वर्ष २०८०/८१ मा रोजगारीका लागि विदेश जाने नाममा मोरङका २१६ जना ठगीमा परेका छन् । ती २१६ जनाबाट ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको उजुरी जिल्ला प्रशासन कार्यालय मोरङमा परेको छ ।
जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र विराटनगरका परामर्शकर्ता सरोजकुमार खनालले ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको उजुरी आएको जानकारी दिए ।
मोरङबाट वैदेशिक रोजगारमा जान चाहेका २७ जना महिला र १८९ जना पुरुष ठगीमा परेको उनले बताए । उनका अनुसार प्रत्येक वर्ष यसरी ठगीमा पर्नेहरूको संख्या बढ्दै गएको हो ।
आप्रवासी स्रोत केन्द्र विराटनगरमा ठगीमा परेको भन्दै उजुरी गरेका ११९ जनाले भने रकम फिर्ता पाएका छन् । त्यसरी रकम फिर्ता पाउनेमा २४ जना महिला र ९५ जना पुरुष छन् ।
उनीहरूलाई सम्बन्धित एजेन्ट, तथा म्यानपावर कम्पनीले रकम फिर्ता गरिदिएका हुन् । उनीहरूले ६ करोड ३५ लाख १४७ रुपैयाँ फिर्ता गरेको खनालले जानकारी दिए ।
स्रोत केन्द्रमा परेका उजुरीका आधारमा मालदिभ्स जान खोज्नेहरू सबैभन्दा धेरै ठगिएका छन् । त्यसपछि मलेसिया, साउदी अरविया, दुबई, यूएई, माल्टा, रोमानिया, क्रोसिया, जापानलगायत मुलुकमा पठाइदिने नाममा व्यक्ति र मेनपावरहरूबाट सर्वसाधारणहरू ठगीमा परेका हुन् ।
यस्तै, क्यानडा जान खोज्नेहरू पनि ठगीमा परेको भन्दै उजुरी आएको खनालले जानकारी दिए । गतवर्ष क्यानडा जान खोज्ने दुई जनाले ठगीमा परेको उजुरी दिएका थिए । ती दुई जनाबाट ३० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको उजुरीमा उल्लेख छ ।
एकै व्यक्तिबाट धेरै जना ठगिएको आप्रवासी स्रोत केन्द्र विराटनगरकी परामर्शकर्ता मुना कोइरालाले बताइन् । ‘साउदी पठाउने भनेर एकै जनाले १२ जनासम्मलाई ठगी गरेको उजुरी परेको छ,’ कोइरालाले भनिन्, ‘ती व्यक्तिले वैदेशिक रोजगारीमा पठाउने भनेर ९ लाख रुपैयाँ लिएर ठगी गरेका रहेछन् ।’
साउदीलगायत खाडी मुलुकमा भने सम्झौता अनुसारको काम र दाम नदिने गरेको उजुरी रहेको परामर्श केन्द्रले जनाएको छ । महिलाहरूलाई भिजिट भिसाका नाममा ठगी गर्ने प्रवृत्ति बढी देखिएको केन्द्रले जनाएको छ । महिलालाई घरेलु कामदार बनाएर लैजान नेपाल सरकारले नै रोक लगाएको छ ।
दुबईसम्म भिजिट भिसाका लागि लैजाने र त्यसपछि कुवेतमा लगेर घरेलु कामदारका रूपमा काम गर्न बाध्य बनाउने क्रम पनि बढिरहेको केन्द्रका स्रोत व्यक्ति सरोजकुमार खनालले बताए । उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको उनले बताए ।
गाउँका चिनजानकै व्यक्तिले सर्वसाधारणलाई ठगी गरेका धेरै घटनाहरू पाइएको आप्रवासन केन्द्रका कर्मचारीहरू बताउँछन् । आफूले ठगी गरेको प्रमाण नदेखियोस् भनेर चिनेका एजेन्टले अर्कै एजेन्टको नाममा पैसा पठाउन लगाएर ठगी गर्ने प्रवृत्ति पनि देखिएको कर्मचारीहरूले जानकारी दिए । ‘हाम्रोमा परेका उजुरी हेर्दा र छलफल गर्दा धेरै म्यानपावर कम्पनीहरूकै बदमासी देखिन्छ । विदेश जानेहरू पनि चिनजानकै व्यक्तिबाट जानका लागि गाउँकै एजेन्टको सहयोग लिने र ती एजेन्टले ठगी गर्ने उद्देश्यले नै अर्को एजेन्टको सम्पर्कमा पठाइदिने, उसैमार्फत् रकम कारोबार गर्ने आदि काम गर्ने गरेको पाइन्छ । ठगी गर्ने उद्देश्यले अर्कै एजेन्टका नाममा पैसा पठाउन लगाउने, बैंकबाट कारोबार नगरी नगदबाट गर्ने जस्ता प्रवृत्ति देखिएको र त्यसबाट सर्वसाधारणहरू सजिलै ठगीमा पर्ने गरेको देखिन्छ, यस्तोमा ठगीमा पर्नेहरूसँग आवश्यक प्रमाण नहुने समस्या देखिएको छन्’ खनालले भने ।
वैदेशिक रोजगारीमा जानेहरूलाई बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्नसमेत आप्रवासन केन्द्रले आग्रह गरेको छ । एजेन्टहरूसँग बोलेका कुराहरू रेकर्ड गरेर सुरक्षित राख्न पनि केन्द्रले सचेत गराउने गरेको छ ।
वैदेशिक रोजगारीमा जानेहरूका लागि आप्रवासी स्रोत केन्द्र र स्रोत उपकेन्द्रले कानूनी सहायता उपलब्ध गराउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्र र इलाका प्रशासन कार्यालयमा उपकेन्द्र रहेका छन् । आप्रवासी स्रोत केन्द्रका कर्मचारीहरूका अनुसार खाडी मुलुकमा जाँदा थोरै रकम ठगी हुने तर, अस्ट्रेलिया, जापान, क्यानडा आदि देशमा जान खोज्नेहरूबाट धेरै रकम ठगीमा पर्ने गरेको पाइएको छ ।
यता जिल्ला प्रशासन कार्यालय मोरङले ठगी नियन्त्रण गर्न राहदानी बनाउँदा नै सम्झाउने गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । ‘अन्य जिल्लाको तुलनामा ठगीको घटना मोरङमा धेरै बढेको पाएको छु,’ प्रजीअ भट्टराईले भने, ‘सचेतना कार्यक्रम लिएर गाउँ गाउँमा जानुपर्छ । यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन ।’
उनले स्थानीय तह र वैदेशिक रोजगार विभागले यसमा विशेष ध्यान दिनु पर्ने बताए । वैदेशिक रोजगार विकास बोर्डले यसमा ध्यान दिनुपर्ने हुन्छ ।