
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । राष्ट्रपति भवनमा भएको एक बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ढाका ट्रीब्युनका अनुसार बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए । युनुसले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।
००००
बेलायतमा रहेको नेपाली राजदूतावासले हालै केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन हुलदंगा चलिरहेको हुँदा बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नेपाली नागरिकलाई यस्तो हूलदङ्गा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको छ ।
राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियाली रहेको उल्लेख गर्दै यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न अनुरोध पनि आग्रह गरेको छ ।
००००
सरकारले दुईजना सहसचिवको बढुवा तथा दुई सचिवको सरुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गत साउन १५ गते बसेको न्याय सेवा आयोगको बैठकले बढुवा र सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
००००
जीवन बीमा कम्पनीहरूको बीमाशुल्क १ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीहरूले गत असार मसान्तसम्ममा कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क पुर्याएका हुन् ।
सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असारसम्म कुल ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ प्राथमिक बीमाशुल्क आर्जन गरेका छन् ।
००००
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनःगठन भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलवार मन्त्रिपरिषद् पुनःगठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकरएक गरी पाँचजना राज्यमन्त्री थपिएका हुन् । यसँगै मधेश सरकारको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । यो अहिलेसम्मकै ठूलो आकारको हो ।
००००
इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
इरानमाथिको जीतसँगै नेपालले बुधबार हुने उपाधि भिडन्तमा भारतसँगको भेट पक्का गरेको हो ।
००००
सरकारले ३४ जिल्लामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएको छ ।
भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भएकाले साउन २२ र २३ गते विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
००००
चितवनको सिमलतालमा पहिरोले बगाएर दुईवटा गाडी त्रिशूली नदीमा र्पुयाएको घटना अध्ययन गर्न गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ ।
दुर्घटनास्थलको अनुगमन तथा अध्ययन, दुर्घटनामा भएका लापरवाही, सडक सुरक्षामा जोडिएका अन्य निकाय, दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, मृत्यु भएका र घाइतेलाई दिने राहत एवं बिमा लगायतका विषय समेटेर तयार पारिएको प्रतिवेदन मंगलबार कार्यदलले गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कदमले पार्टीभित्र कुनै असन्तुष्टि र समस्या नभएको दाबी गरेका छन् ।
मंगलवार विराटनगरमा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
००००
बुधबारदेखि शुरू हुने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा मुख्य ६ एजेन्डामा छलफल हुने भएको छ ।
महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिने, आन्तरिक संरचनालाई प्रभावकारी बनाउने, केन्द्रदेखि प्रदेशका सरकारलाई व्यवस्थित रूपमा चलाउनेसहितका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकपूर्व सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको थियो ।
गत फागुनमा सकिएको महासमिति बैठकको निर्णयलाई अन्तिम रूप दिएर पारित गर्ने, भ्रातृ संस्थाको अधिवेशन सुनिश्चित गर्न छुट्टा–छुट्टै निर्देशक समिति गठन गर्ने तयारी गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै, पार्टी संगठनका लागि ४ महिने अभियान चलाउने, केन्द्रदेखि प्रदेशसम्मका सरकारलाई प्रभावकारी बनाएर नागरिकको निराशा चिर्ने, जिल्लामा रिक्त पदाधिकारी र विभिन्न सदस्यको टुंगो लगाउने तथा अनुशासन समितिको कामको विषयमा मुख्य छलफल गर्ने एजेन्डा रहेको पौडेलको भनाइ छ ।