
एक दशक अघिसम्म धेरैले शेख हसिनालाई ‘आइरन लेडी’ भनेर सम्बोधन गर्ने गर्थे । झण्डै दुई दशक सत्तामा बसेकी प्रधानमन्त्री हसिनाले यसरी देशै छोड्नु पर्ला भनेर धेरैले कल्पनासमेत गरेका थिएनन् ।

बंगलादेशको इतिहासमा यसअघि कहिल्यै पनि सत्ताबाट हटाइएपछि कुनै शासकले देश छोडेर भागेका थिएनन् ।
सोमबार आन्दोलनरत विद्यार्थीहरूको ‘लङ मार्च टु ढाका’ अभियानका क्रममा शेख हसिना र उनकी बहिनी शेख रेहानालाई देश छोड्न बाध्य पारिएको थियो । यसअघि आइतबार राति र सोमबार बिहान नाटकीय घटनाहरूको श्रृङ्खला जारी थियो ।
आइतबार देशभर अवामी लिगका नेता, कार्यकर्ता र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा करिब सय जनाको मृत्यु भएको थियो । जसमा धेरै प्रहरी पनि थिए । प्रदर्शनकारीको चर्को विरोधका कारण अवामी लिगका नेताहरू धेरै ठाउँमा पछि हट्नुपरेको थियो ।
त्यो साँझ, अवामी लिगका धेरै वरिष्ठ नेताहरू र सल्लाहकारहरूले शेख हसिनालाई स्थिति नियन्त्रण बाहिर गएको बताएका थिए । तर शेख हसिना हार मान्न तयार भइनन् ।
उनले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा राख्ने अपेक्षा गरेकी थिइन् । तर, सुरक्षा बलका शीर्ष अधिकारीहरूले अब नियन्त्रण गर्न नसकिने बताए ।
त्यसपछि मात्र हसिना आफ्नो पदबाट राजीनामा दिन मानसिक रूपमा तयार भइन् । शेख हसिनाका छोरा सजिब वाजिदले बीबीसीलाई बताएअनुसार हसिना आइतवार नै राजीनामा दिने सोचमा थिइन् ।

सेनाका एक उच्च अधिकारीका अनुसार जब हसिनाले राजीनामामा हस्ताक्षर गरिन् र उनी हेलिकप्टरमा सवार भइन् त्यसबारेमा विशेष सुरक्षा बल, प्रेसिडेन्ट गार्ड रेजिमेन्ट र आर्मी हेडक्वार्टरका उच्च अधिकारीलाई मात्र थाहा थियो । यो सम्पूर्ण विषय निकै गोप्य राखिएको थियो ।
हसिना सोमबार बिहान ११ बजे गणभवनबाट निस्किएकी थिइन् । त्यहाँबाट उनी सेनाको हेलिकप्टरबाट त्रिपुराको राजधानी अगरतला पुगिन् । त्यसपछि हसिना र शेख रेहाना विशेष विमानबाट दिल्ली पुगेका थिए ।
हसिना दुवै विकल्पहरू खुला राख्न चाहन्थिन् । एकातिर उनी देश छाड्न तयार थिइन् भने अर्कोतिर बल प्रयोग गरेर अन्तिम क्षणसम्म सत्तामा बस्न खोजिन् ।
आइतबार सेनाका तल्लो तहका अधिकृत देशका विभिन्न भागमा सर्वसाधारण र आन्दोलनकारीसँग मिसिएका थिए । स्थितिको समीक्षा गरेपछि सेनाका शीर्ष अधिकारीहरूले अवस्था सत्तारूढ दलको नियन्त्रणबाहिर गएको ब्रिफिङ गरेका थिए ।
सोमबार बिहान प्रहरी र सेनाका जवानहरूले टाढाबाट गण भवन (शेख हसिनाको निवास) जाने सबै सडकहरू घेरा हालेका थिए । सेनाका शीर्ष अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार शेख हसिना सुरक्षित रूपमा तेजगाउँ एयरपोर्ट पुग्न सकून् भनेर यस्तो गरिएको थियो ।
बिहान ९ बजेदेखि देशभर डेढ घण्टा इन्टरनेट सेवा बन्द गरिएको थियो । शेख हसिनाको गतिविधिबारे सामाजिक सञ्जालबाट कुनै पनि जानकारी नफैलियोस् भनेर इन्टरनेटमा प्रतिबन्ध लगाइएको सेनाका अधिकारीहरूले बताएका छन् ।
हसिना हेलिकप्टरमा चढेपछि इन्टरनेट सुचारु गरिएको थियो ।

दैनिक प्रथम आलो पत्रिकाका अनुसार हसिनाले सोमबार बिहान गणभवनमा तीन सेनाका प्रमुख र प्रहरी प्रमुखसँग भेटवार्ता गरेकी थिइन् । अखबारले आफ्नो एक रिपोर्टमा लेखेको छ, 'हसिनाले स्थिति नियन्त्रण गर्न सुरक्षा बलहरू असफल भएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । भेटका क्रममा हसिनाले प्रहरीतर्फ औंला उठाउदै राम्रो काम गरिरहेको बताएकी थिइन् । त्यसपछि प्रहरी महानिरीक्षक (प्रहरी)ले अवस्था कठिन बनेको बताएका थिए ।
त्यतिबेलासम्म सडकमा आन्दोलनकारीको भीड जम्मा हुन थालिसकेको थियो । बैठकमा हसिनालाई भनिएको थियो कि भीडलाई लामो समयसम्म रोक्न सम्भव छैन र मानिसहरू चाँडै गणभवनतर्फ सर्नेछन् । यस्तो अवस्थामा हसिनाको ज्यान खतरामा पर्नेछ ।
ती अधिकारीका अनुसार शेख हसिनाले बल प्रयोग गरेर ‘लङ्ग मार्च टु ढाका’ रोक्न सफल भए पदबाट राजीनामा नदिने सोचेकी थिइन् । तर, त्यसमा असफल भए उनले देश छाड्ने तयारी पनि गरेकी थिइन् ।
यसअघि पनि देशबाट विस्थापित हुने विषयमा भारतसँग सम्पर्क भइसकेको अधिकारीहरूले बताएका छन् ।
हसिनालाई बंगलादेश वायुसेनाको विमानबाट दिल्लीसँग जोडिएको हिन्डन विमानस्थलमा लगिएको थियो।
हसिनाका छोरा साजिब वाजिदले आमाले देश छोड्न नचाहेको बीबीसीलाई बताए । तर परिवारका सदस्यहरू उनको सुरक्षाको बारेमा चिन्तित थिए । त्यसैले परिवारका सबै सदस्यले उनलाई सुरक्षित ठाउँमा जान दबाब दिइरहेका थिए ।
दैनिक प्रथम आलोले लेखेको सोमबार बिहान प्रहरी र सेना प्रमुखहरूले शेख हसिनाकी बहिनी शेख रेहानालाई राजीनामा दिन तयार गर्न पनि कुराकानी गरेका थिए।
त्यसपछि रेहानाले हसिनासँग कुरा गरिन् । तर उनी (हसीना) सत्तामा रहन अडिग थिइन् । उही समयमा, एक उच्च अधिकारीले अमेरिकामा हसिनाका छोरा सजीब वाजिदसँग फोनमा कुरा गरे । त्यसपछि सजिबले आमासँग कुरा गरे । त्यसपछि मात्र हसिना आफ्नो पदबाट राजीनामा दिन राजी भएकी थिइन् ।
बीबीसी बंगलाका लागि अकबर हुसेनले तयार पारेको सामाग्रीको नेपाली भावानुवाद ।
यो पनि
शेख हसिना : बुवाको विरासतबाट राजनीतिमा 'इन्ट्री', दुई दशकपछि बाध्यात्मक बहिर्गमन