
गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब ६३ करोड २४ लाख पाँच सय २९ राजस्व सङ्कलन भएको छ ।
बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
आव २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका थिए ।
मन्त्रालयको यातायात शाखाका प्रमुख अनिल सुवेदीले सवारी खरिद÷बिक्रीमा भएको गिरावटको असर राजस्वमा परेको बताए। “सवारी करको दर यथावत भए पनि खरिद बिक्रीमा आएको कमीले राजस्व सङ्कलन घटेको हो”, उनले भने ।
यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले यसअघि दैनिक १० देखि १२ वटा सवारीसाधन खरिद बिक्री हुनेमा हिजोआज दैनिक एक/दुई वटामात्र हुने गरेको बताइन् ।
मन्त्रालयका अनुुसार गत आवमा सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु एक अर्ब ४२ करोड ३० लाख ४० हजार छ सय २४ राजस्व सङ्कलन गरेको छ ।