०३ असार २०८३, बुधबार

पर्यटकलाई लोभ्याउँदै नानापुर

साउन २५, २०८१
नेपालगञ्ज
पर्यटकलाई लोभ्याउँदै नानापुर

​​​​बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगन्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ । 

नानापुर क्षेत्रमा शनिबार वा सार्वजनिक बिदाका दिन नेपालगन्ज, कोहलपुरलगायत क्षेत्रबाट घुम्न आन्तरिक पर्यटक पुग्ने गरेका स्थानीय अगुवा मीनबहादुर थापाले बताए । 'नेपालगन्ज शहरबाट नजिकै पर्ने हराभरा र रमणीयस्थलले सबैलाई लोभ्याइरहेको छ,' उनले भने, 'पर्यटनको प्रचुर सम्भावना रहेकाले नानापुर घरबास र उद्यानलाई अझ रमणीय बनाउन स्थानीय सरकारको अग्रसरताको खाँचो छ ।'​

बाबुकुवा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आनन्द लिने गरेका छन् ।

सिद्धिविनायक लायन्स उद्यानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोलघर, कार्यक्रम कक्षलगायत संरचना निर्माण गरिएको छ । बाबुकुवा सामुदायिक वनमा सिद्धिविनायक लायन्स उद्यान सञ्चालनमा आएपछि त्यसले आन्तरिक पर्यटकको चहलपहल बढाएको नानापुर होमस्टेका अध्यक्ष डम्बर बुढाथोकीले जानकारी दिए ।

नानापुर क्षेत्र पुग्ने आन्तरिक पर्यटक स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने गरेका  उनी बताउँछन्।

'होमस्टेको प्रचारप्रसार गर्न नसक्दा बाह्य पर्यटक कम आउने गरेका छन् । होमस्टेको शिष्टाचार, स्थानीय परिकारका स्वाद, पारिवारिक रहनसहनमा घुम्न आउने आन्तरिक पर्यटक रमाउने गरेका छन्, शुरूको वर्ष होमस्टे सुनसानजस्तै थियो, विस्तारै पर्यटक आउने क्रम बढेको छ,' उनले भने ।​

नेपालगन्जबाट करिब आठ किलोमिटरको दूरीमा नानापुर क्षेत्र रहेको छ । पछिल्लो पटक सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी बग्न थालेपछि गर्मीयाममा त्यहाँ पुग्ने पर्यटक रमाउने गरेका छन् ।

डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले वडास्तरबाट पूर्वाधार विकास गर्न बजेट नभएकाले गाउँपालिका र प्रदेश सरकारसँँग नानापुर क्षेत्रको थप विकास गर्न पहल गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्