
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले टुकुचा खोलाको अधिकार खोलालाई नै सुम्पिनु पर्ने बताएका छन् । महानगरको कार्यालय नजिकै टुकुचा खोलामाथिको सडकमा भ्वाङ परेपछि उनले खोलाको अधिकार खोलालाई नै सुम्पिनु पर्ने बताएका हुन् ।
त्यसका लागि व्यक्ति विशेषका नाममा गएको खोलाको जग्गा सरकारले लगत कट्टागरी खाली गराउनुपर्ने उनको भनाइ छ ।
महानगरले केही समयअघि टुकुचा खुला गर्ने अभियान चलाएको थियो । तर, सर्वोच्च अदालतले रोक लगाएपछि महानगर पछाडि हट्नुपरेको थियो ।
'काठमाडौं महानगरले केही समय पहिले खोला खुल्ला गर्न काम शुरू गरेका थियो । अदालती कारणले रोकिनु परेको थियो,' उनले लेखेका छन्, 'अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौं । सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यसपश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।'
आवश्यकताअनुसार खोलामाथि पुल बनाए पनि घर र बाटो बनाउन नहुने उनको टिप्पणी छ । 'यति त सबैलाई थाहा हुनै पर्छ कि मान्छेले आवश्यकताअनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।'