
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रतिवादी कमलप्रसाद खनालको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको छ ।
विशेषको फैसला आयोगलाई चित्त नबुझी शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आयोगले उनीविरुद्ध ३ लाख २६ हजार ४९७ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम कैद र जरिवानाको मागदाबी गरेको थियो । तर विशेषले उनलाई सफाइ दिएको थियो ।
विशेषको सोही फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।
साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक वर्ष २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन कार्यक्रमको प्रचार-प्रसारका लागि होर्डिङ बोर्ड निर्माण गर्दा अनियमितता गरिएको भन्दै आयोगले मुद्दा दायर गरेको थियो ।
उक्त कार्यक्रमका फोकल पर्सन तत्कालीन नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रशासकीय तथा वित्त सहायक पदमा कार्यरत खनालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको आयोगको दाबी छ ।