
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए ।
'हिमाल र पानीको सुरक्षा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ,' राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
राष्ट्रपति पौडेलले नेपाल–भारतबीच अनादि कालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको बताए ।
नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै उनले सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्ने बताए ।
कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानव संसाधन विकास नेपालको प्राथमिकता रहेको बताएका उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरेका थिए ।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल सरकारका कैयौं योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए ।
उनले काम अगाडि बढिरहेका आयोजना यथाशीघ्र सम्पन्न गरेर नयाँ र प्राथमिकताका क्षेत्रमा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।
नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उनको भनाइ थियो ।
विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारेका प्रेस सल्लाहकार पोखरेलले बताए ।