२७ जेठ २०८३, बुधबार

मृतकका परिवारलाई २५ लाख दिने सहमति, १० लाख भोलि नै भुक्तानी हुने

साउन २७, २०८१
सोलुखुम्बु
मृतकका परिवारलाई २५ लाख दिने सहमति, १० लाख भोलि नै भुक्तानी हुने

सल्लेरीमा करेन्ट लागेर ज्यान गुमाएका विष्णु राईको परिवारलाई क्षतिपूर्तिवापत रु २५ लाख दिने सहमति भएको छ । आज सल्लेरी च्याल्सा विद्युत् कम्पनी र मृतकका परिवारका तर्फबाट गठित वार्ता समितिबीच उक्त सहमति भएको हो । 

सोलुदुधकुण्ड नगरपालिका–६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले दुवै पक्षबीच ११ बुँदे सहमति भएको जानकारी दिए । सहमतिअनुसार मृतकका परिवारलाई रु १० लाख भोलि नै उपलब्ध गराउने र बाँकी रु १५ लाख आगामी मङ्सिरमसान्तसम्म उपलब्ध गराइने छ । 

साथै मृतकका सन्तानलाई स्नातकोत्तरसम्मको पढाइको जिम्मा कम्पनीले लिने, परिवारले मृतकको अनिवार्य अवकाश उमेरसम्म विद्युत् महसुलमा छुट पाउने, र घटनाको निष्पक्ष छानबिनका लागि कम्पनीका निर्देशक नुरु लामा शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन समेत गरिएको छ ।  

सोही घटनामा घाइतेको उपचारको सबै खर्च कम्पनीले बेहोर्ने, दैनिक ज्यालादारीमा रहेका घाइतेलाई करार नियुक्तीका लागि प्रस्ताव अघि बढाउने, कर्मचारी तथा दैनिक ज्यालादारीमा काम गर्नेको जीवन बीमा गर्ने पनि सहमति भएको जनाइएको छ । 

सहमतिपत्रमा मृतक राईकी पत्नी जर्मनी राई र छोरा उज्वल राई तथा कम्पनीका तर्फबाट सञ्चालक समिति सदस्य नारायणकाजी श्रेष्ठ, महाप्रबन्धक भोजराज तिवारी र प्राविधिक अधिकृत इन्जिनियर विकासमान राईले हस्ताक्षर गरेका छन् । 

शनिबार सल्लेरी क्षेत्रको रुखविरुवा कटान गर्ने क्रममा करेन्ट लाग्दा दुधकोशी गाउँपालिका–९ लोखिमका विष्णु राईको मृत्यु भएको थियो । साथै कम्पनीका प्राविधिक सहयोगी सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेत घाइते भएका थिए । घाइतेहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्