
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रको नेतृत्व परिवर्तनबारे दुई उपमहासचिव एकठाउँमा उभिएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन एकठाउँमा उभिएका हुन् ।
उनीहरु दुबैले अव प्रचण्डको विकल्प खोज्नुपर्नेमा जोड दिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बैठकमा शर्माले लिखित प्रस्ताव नै पेश गरेका थिए । सो प्रस्तावमा उनले प्रचण्डको नेतृत्व परिवर्तनबारे तीन विकल्प अघि सारेका छन् ।
उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् ।
यस्तै पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने विचार रराखे । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार पुनले एक वा दुई कार्यकाल अध्यक्ष बन्ने गरी विधानमै तोकिनुपर्ने बताए ।
००००
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू फेरि आन्दोलित भएका छन् । १ अर्ब रुपैयाँ रकम जम्मा गरेका झन्डै दुई हजार बचतकर्ता बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
बुटवलबाट प्रदेश राजधानी दाङ देउखुरी गएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय घेराउ गर्दै प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने मत अघि सारेको छ ।
पार्टीको आजदेखि सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको ६१ बुँदे समसामयिक राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठनको विषय समावेश गरिएको छ ।
अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने राजनीतिक प्रस्ताव पार्टीको बैठकमा पेस गरेका हुन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो क्रममा ओली र विदेश सचिवबिच समसामयिक विषयमा छलफल समेत भएको थियो । भारतीय विदेश सचिव आइतबार नेपाल भ्रमणमा आएका हुन् । सोही दिन उनले प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
००००
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आइतबार पनि जारी केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चीनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहलगायतले धारणा राखेका थिए ।
००००
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका प्राथमिकता तथा योजना सार्वजनिक गरेका छन् ।
आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरू र गर्ने कार्यक्रमहरूका विषय सार्वजनिक गरेका हुन् ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप चार दिनको म्याद दिएको छ ।
आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले झालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने बताएका छन् ।
आइतबार केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले तोकिएको समयमै महाधिवेशन गर्न माग गरेपछि देउवाले शंका नगर्न आग्रह गरेका हुन् ।
बैठकमा कोइरालाले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्ने सुनिश्चितता केन्द्रीय समितिको चालू बैठकबाट हुनुपर्ने बताएका थिए ।
००००
३० महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २८०० बिन्दु पार गरेको छ ।
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६० को बिन्दुमा कायम भएको छ ।
यसअघि अन्तिमपटक २०७८ माघ २७ गते परिसूचक २८०१.५६ को बिन्दुमा अडिएको थियो ।