२५ जेठ २०८३, सोमबार

राति सुतेकै ठाउँमा सर्पले डस्यो : भाइको मृत्यु, दाइको अवस्था चिन्ताजनक

साउन २८, २०८१
बुटवल
राति सुतेकै ठाउँमा सर्पले डस्यो : भाइको मृत्यु, दाइको अवस्था चिन्ताजनक
फाइल फोटो

कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर– १ जमुनाह टोलका दुई दाजुभाइलाई विषालु सर्पले डसेको छ ।

स्थानीय सन्तोषकुमार कसोधनका दुई छोराहरूलाई आइतबार राति सर्पले डस्दा १३ वर्षका समर चिरागको मृत्यु भएको छ ।

यस्तै, १४ वर्षका राजको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । राजको अवस्था पनि चिन्ताजनक भएको बुवा सन्तोषले बताए ।

राति दुवै जना घरमा सुतेका र बिहान अबेरसम्म नउठेपछि हेर्दा दुवै अचेत अवस्था रहेका थिए ।

उनीहरूलाई उपचारका लागि सोमबार शुरूमा तौलिहवा अस्पताल लगिएको थियो । चिरागको सोही अस्पतालमा निधन भएको हो ।

त्यसपछि राजलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको हो ।

बुटवल ल्याएर ब्लड जाँच गराउँदा मात्रै उनीहरूलाई सर्पले डसेको थाहा भएको थियो ।

कपिलवस्तुका डाक्टरहरूले आफूहरूलाई अल्झाउँदा छोरा चिरागको मृत्यु भएको सन्तोषले आरोप लगाए ।

मृतक चिराग बर्गदवास्थित भगवानदास माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । घाइते राज कक्षा ८ मा अध्ययनरत छन् ।​

वर्षायाम शुरू भएसँगै तराईमा विषालु सर्पको बिगबिगी छ ।

यता कपिलवस्तु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले उक्त घटनाबारे प्रहरीलाई जानकारी नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्