
काठमाडौं, १२ कात्तिक — चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो कार्यकाल चलाएर प्रभाव बढाउँदै जाँदा अमेरिकाले उसलाई घेर्न योजना बनाएको छ ।

चीनले नेपाल, श्रीलंका, बंगलादेश र अफ्रिकी मुलुकहरूलाई आर्थिक सहयोग दिएपछि उसको प्रभाव विश्व राजनीतिमा ह्वात्तै बढेर गएको छ । यस्तोमा जापान, अस्ट्रेलिया र भारतलाई साथमा लिएर अमेरिकाले वैकल्पिक योजना बनाइरहेको छ ।
अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले हालै भारत र पाकिस्तानको भ्रमण गरेका छन् । यसमाथि टिप्पणी गर्दै अमेरिकी विदेश राज्यमन्त्री एलिस वेल्सले पत्रकारलाई बताइन्, ‘एकैखाले राजनीतिक मूल्य भएका देशको आधारभूत संरचना र आर्थिक विकासमा लगानी गर्नका लागि क्षेत्रीय रूपमा ठूला देशहरूले विकल्प दिनुपर्छ । त्यसका लागि अमेरिका सहयोग गर्न तयार छ । असुरक्षित ऋण यसमा संलग्न हुँदैन र यसले निश्चित रूपले उद्देश्य पूरा गर्छ ।’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बेइजिङ र टोकियोको भ्रमण गर्ने तयारी गरिरहँदा अमेरिकाको यो योजना सार्वजनिक भएको हो । अमेरिकाले अनैतिक वित्तीय लगानी वा असुरक्षित ऋणको कुरा झिकेर चीनतर्फ इशारा गरेको हो ।
गरीबी घटाउनका लागि कार्यरत अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा ७० अर्ब रुपैयाँको परियोजनामा काम गरिरहेको छ । अमेरिकी सरकारले लगभग १३ करोड रुपैयाँ नेपाललाई दिनुपर्नेछ र बाँकी पैसा चाहिँ एमसीसीले दिनेछ ।
वेल्सका अनुसार, भारतमा यही परियोजनाअन्तर्गत सडकका साथसाथै ऊर्जाको क्षेत्रमा काम भइरहेको छ ।
नेपाललाई पनि आगामी सात वर्षमा ऊर्जा निर्यातक बन्ने अनुमति दिइनेछ अनि भारत र नेपालबीच कनेक्टिभिटी बढाइनेछ ।
अमेरिका, भारत र जापानबीच पहिलेदेखि नै त्रिपक्षीय साझेदारी भइरहेको बताउँदै वेल्सले अस्ट्रेलिया पनि यसको स्वाभाविक साझेदार हुने र भविष्यमा यस कूटनीतिक चतुर्भुज बैठक बसाउने योजना बनिरहेको बताइन् ।

वेल्सले भनिन्, ‘लोकतान्त्रिक मूल्यमान्यता अपनाउने देशहरूलाई एउटै मञ्चमा ल्याउने र तिनको उपयोग वैश्विक स्तरमा गर्ने योजना हो ।’
केही विज्ञहरूका अनुसार, चीनले पेटी सडक परियोजनामार्फत ठूलो राजनीतिक खेल शुरु गरेजस्तो अमेरिका पनि योजना बनाइरहेको छ । अमेरिका र भारतले चीनको परियोजनालाई आफ्नो मात्र लाभ हुने अर्थशास्त्रका रूपमा व्याख्या गरेका छन् ।
एजेन्सी