असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
काठमाडाैं | साउन ३०, २०८१
सत्ता बहिर्गमनपछि पहिलोपटक शुरू भएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उप–महासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नेतृत्व छाड्न सुझाएपछि ‘हेडक्वार्टर’वरपर तरंग पैदा भएको छ ।
शर्माले प्रचण्डको निरन्तर चारदशक लामो नेतृत्वप्रति प्रश्न गर्दै पूरक लिखित प्रस्ताव पेश गरेपछि माओवादीमा अर्को ‘फुट’को पूर्वाभ्यास भएको संकेत मिल्न थालेको छ ।
पार्टी निर्माण र १० वर्षे सशस्त्र संघर्षका योजनाकार तथा संस्थापक सहयात्रीबाट एक्लिँदै गएका प्रचण्डलाई तेस्रो तहको नेतृत्वबाट समेत चुनौती खडा भएको छ ।
जनार्दनको यो प्रस्ताव पहिलेजस्तो वैचारिक र ठूलो एजेन्डाका रूपमा स्थापित त छैन, तर प्रचण्डलाई खुलमखुला पहिलोपटक यसरी सिधै नेतृत्व छाड्न भनिएको छ । पार्टी पुनर्निर्माण अभियानमा जान खोजेको माओवादीका लागि यो सुखद् क्षण होइन ।
राजनीतिक वृत्तमा खरो स्वभावबाट आफ्नो पहिचान स्थापित गराएका शर्मा २०५५ सालदेखि निरन्तर केन्द्रीय नेता, कमान्डर, कमिसार, पोलिटब्यूरो सदस्य, स्थायी कमिटी सदस्य र पदाधिकारी भएर प्रचण्डकै वरिपरिमा हुर्केका नेता हुन् ।
दुःखका दिनमा प्रचण्डलाई काँधमा राखेर प्रतिपक्षीविरुद्ध प्रतिरोधमा उत्रिने नेता हुन् शर्मा । डेढ वर्षदेखि भने उनी प्रचण्डबाट अलिक परजस्तो देखिएका छन् ।
जनमतका हिसाबले कर्णाली प्रदेश, त्यसमध्ये रुकुम पश्चिम माओवादीको आधार इलाका हो । त्यहाँबाट शर्माले २०६४ यता निरन्तर चुनाव जित्दै आएका छन् । कर्णालीको जनाधारबाट शर्मा जति स्थापित भएका छन्, कर्णालीमा उनको हालिमुहाली पनि उत्तिकै छ । एमाले–माओवादीबीच पछिल्लो सत्ता समीकरण हुँदा कर्णाली प्रदेशमा मुख्यमन्त्री एमालेलाई दिने सहमतिलाई शर्माले अन्तिमसम्म रोकेका थिए ।
‘माथि भएको सहमति कार्यान्वयन नगरे सांसद पदबाट निलम्बन गरिने’ भनी प्रचण्डले दबाबमूलक आदेश दिएपछि मात्रै शर्मानिकट तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले एमालेका यामलाल कँडेललाई पद छाडेका थिए ।
अहिले शर्माको प्रस्तावपछि पार्टीमा आएको तरंगको असर कतिसम्म पर्छ भनेर माओवादी मात्र हैन, सिंगो राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ । पार्टीभित्र हुने आलोचनाबाट बचेर परिस्थिति आफू अनुकूल राख्न प्रचण्डले बेलाबेला अनेक ‘कार्ड’ प्रयोग गर्छन् । प्रचण्डको त्यो खेलमा कहीँ न कहीँ पूरक भूमिकामा देखिने पात्र हुन्, जनार्दन । प्रचण्डको उक्त बानीलाई बुझेका शर्माले आफ्नो राजनीतिक भविष्यको लेखाजोखा गरेरै यो ‘नयाँ कार्ड’ फ्याँकेका हुन सक्छन् ।
जनार्दनका तीन विकल्प
रुकुम पश्चिमको मुसिकोटमा २०२० सालमा जन्मेका जनार्दनमा २०३६ सालको जनमत संग्रहताका विद्यार्थी राजनीतिप्रति चासो जागेको थियो ।
२०४२ मा तत्कालीन नेकपा (चौथो महाधिवेशन) मसाल र मशाल भएर विभाजन हुँदा उनी मशाल हुँदै माओवादी आन्दोलनमा होमिएका हुन् । स्थायी सरकारी जागिर छाडेर माओवादीको सशस्त्र संघर्षमा होमिएका शर्मा दाङ जिल्ला समिति हुँदै २०५६ को चौथो विस्तारित बैठकबाट केन्द्रीय सदस्यमा पदोन्नति भएका थिए ।
त्यसलगत्तै सैन्य हेडक्वार्टर गठन भयो । माओवादी सेना निर्माण प्लाटुनबाट निवर्तमान उप–राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ ३ जनाको सैन्य हेडक्वार्टर बन्यो । शर्मा सैन्य हेडक्वार्टरबाट २०५७ मा सुदूरपश्चिमका उप–ब्यूरो इन्चार्ज बने । त्यसको केही समयपछि क्षेत्रीय ब्यूरो इन्चार्ज र लगत्तै भारतको गोवामा भएको बैठकबाट माओवादी सेनाको राजनीतिक कमिसार भए ।
२०५९ मा फुन्टिबाङमा बसेको बैठकले केन्द्रीय समितिको संख्या २१ बाट ९५ पुर्यायो । त्यतिबेला शर्मा पोलिटब्युरो सदस्यमा बढुवा भए । त्यही बैठकमा डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो ।
माओवादीको चर्चित २०६२ को चुनाबाङ बैठकबाट शर्मा पश्चिम सैन्य कमान्डर भए । माओवादीको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिअनुसार शर्माले सैन्य कमान्डरको भूमिका निभाएका थिए ।
पार्टी शान्ति प्रक्रियामा आएपछि उनी शान्ति तथा पुनःनिर्माण, गृह, ऊर्जा र अर्थमन्त्री भइसकेका छन् । ऊर्जामन्त्री हुँदा कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाए । मुलुकमा लोडसेडिङ अन्त्यको श्रेय शर्माले पनि पाए । अर्थमन्त्री हुँदा भने उनको प्रशंसाभन्दा बढी आलोचना भयो । कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीरको व्यापारिक स्वार्थअनुरूप काम गरेको आरोपबाट शर्मा मुक्त हुन सकेनन् ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७४ को चुनावी गठबन्धन, पार्टी एकता र तत्कालीन नेकपा गठनको सूत्राधारका रूपमा शर्मा चिनिएका थिए ।
२०७९ को चुनावपछि एमालेसँग दुईपटक सत्ता समीकरण गर्दा शर्माले सहमति भएपछि मात्रै थाहा पाए । २०७९ मा एमाले–माओवादी समीकरण टुटाउन उनले भूमिका खेले । तत्कालीन अवस्थामा देउवाको डेरा धुम्बाराही पुगेर उनले एमाले–माओवादी सहकार्य टुटाउने वातावरण बनाएका थिए ।
नेतृत्व छाड्नका लागि अध्यक्ष प्रचण्डलाई विकल्प दिएका दिएका जनार्दनले आफ्नो विकल्पलाई पनि ३ प्रकारबाट तयारी गरेको बुझ्न सकिन्छ ।
विकल्प (१)जसले प्रचण्डको कडा विरोध गर्छ, उसलाई नेतृत्वको कुनै महत्त्वपूर्ण जिम्मेवारी दिएर आफूनिकट राख्ने प्रचण्डको पुरानै प्रवृत्ति दोहोरिन सक्छ । पार्टी राजनीतिमा प्रचण्डवरपर रहेरै आफ्नो वर्चश्व स्थापित गर्ने उनको पहिलो विकल्प हो ।
विकल्प (२) महासचिव नबनाएपछि पार्टीमा विमति राखेका कारण आफूलाई नेतृत्वले जिम्मेवारीविहीन बनाएकाले अन्तिम धक्का भनी आफ्नो विकल्पका रूपमा प्रस्ताव अघि सारेका हुन सक्छन् । भोलि पार्टीबाट बाहिरने अवस्था आए पनि त्यसका लागि समेत एउटा पूर्वाभ्यासको अध्याय समेत हुन सक्छ ।
विकल्प (३) मोहन वैद्य र बाबुराम भट्टराई पार्टीबाट अलग्गिएपछि माओवादीमा देखिने त्यस्तो ठूलो गुट छैन । सबै प्रचण्डकै छत्रछायाँभित्र स–सना उपगुटहरू छन् । जनार्दनले पछिल्लोपटक खुलमखुला प्रचण्डलाई दिएको यो चुनौतीले ‘प्रभाकर गुट’ भनेर स्थापित हुने सम्भावना बलियो छ । केही पाइन्छ भन्ने हेतुले प्रचण्डसँग नजिकिने नेताहरू धेरै छन् । पाउँदा खुशी हुने नै भए । नपाउँदा प्रचण्डप्रति गुनासो गर्ने र दुःख पोख्ने चौतारीका रूपमा प्रभाकरको गुट स्थायी हुन सक्छ ।
हिजोका दिनमा वैद्य र बाबुरामको गुटबाट जसरी पार्टी संगठन र राजकीय पदमा लाभ लिनेको संख्या धेरै छ, त्यो संख्यालाई गोलबद्ध गरेर पार्टीमा शक्ति आर्जन गर्न सक्ने उद्देश्यप्रति शर्माको कदम लक्षित रहेको बुझ्न सकिन्छ ।
प्रचण्ड नेतृत्वमाथि आइपरेको तेस्रो ‘विपत्ति’
पार्टी शान्ति प्रक्रियामा आएपछि मात्रै मोहन वैद्य किरण र सीपी गजुरेल भारतबाट जेलमुक्त भएर नेपाल आए । पहिलोपटक वैचारिकरूपमा महत्त्वपूर्ण मानिएका बालाजु र खरिपाटी बैठकदेखि प्रचण्डलाई पार्टीमा विपत्ति आइलाग्यो ।
खरिपाटी बैठकमा ३५ सदस्यमध्ये १७ जना दाहाल र १७ जना वैद्यको पक्षमा उभिए । हाल नेकपा (एमाले)को उपाध्यक्ष रहेका रामबहादुर थापा ‘बादल’ तटस्थ बसिदिएर प्रचण्डको नेतृत्व जोगियो ।
बादलको एक मत आफ्नो घाँटीको तरबार सम्झिएका प्रचण्डले तत्कालै नारायणकाजी श्रेष्ठसँग पार्टी एकता गरेर केन्द्रीय समितिको संख्या ठूलो बनाए । तत्कालका लागि उनको पद सुरक्षित भयो ।
प्रचण्ड २०६८ वैशाखमा शान्ति र संविधानका लागि सेना समायोजन गर्ने निर्णयमा पुगे । त्यसपछि प्रचण्ड फेरि एक्लिए । वैद्य समूह त प्रचण्ड नेतृत्वको विरुद्ध थियो नै त्यसमा नारायणकाजी, बाबुराम, बादलसमेत मिसिएर चर्चित ‘धोबीघाट भेला’ भयो । त्यसपछि प्रचण्ड झन् एक्लिए । पार्टीभित्रको ‘धोबीघाट मोर्चा’लाई छिन्नभिन्न बनाउन प्रचण्डले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको ‘ग्रीन सिग्नल’मा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाए, जुन कार्यले धोबीघाट मोर्चा छिन्नभिन्न त भयो, तर शक्तिशाली एकीकृत माओवादी २०६९ असारमा विभाजित हुन पुग्यो ।
शर्माले बुझाएको पूरक दस्तावेजमा वैचारिक काम र सत्ताको नेतृत्वका रूपमा प्रचण्ड नै रहने, तर संगठनको नेतृत्व हस्तान्तरण गर्नुपर्ने आशय देखिन्छ । प्रचण्डलाई नेतृत्व छाड्न भने पनि शर्मा आफू दाबेदारका रूपमा उभिने परिस्थिति देखिन्न । प्रचण्डपछिका दोस्रो शेषमा रहेका नेताहरूको तर्क छ, ‘दश वर्षे युद्धकालीन अवस्था र शान्ति प्रक्रिया टुंगोमा पुर्याउने कार्यभार भएकाले अध्यक्ष प्रचण्डको कार्यकाल लम्बिएको हो । अब विधि र पद्धति बनाएर नेतृत्वको कार्यकाल निर्धारण गरौं भन्ने हो । अहिले नै उहाँ (प्रचण्ड) हट्नुपर्छ भन्ने होइन ।’
यदि प्रचण्डले अहिले नै नेतृत्व छाडिहालेमा वरिष्ठको हैसियतमा नारायणकाजी श्रेष्ठमा जानुपर्ने हुन्छ । श्रेष्ठलाई तल्लो तहको नेतृत्वले स्वीकार गर्दैन । केही दिनअघि पार्टीको कोशी प्रदेश (माओवादीले प्रदेश नं. १ भन्ने गरेको छ) पार्टी प्रशिक्षणमा इञ्चार्ज हरिबोल गजुरेलले उल्लेख गरेको एउटा सन्दर्भ छ । गजुरेलले प्रशिक्षणमा भनेका थिए, ‘२०४७ मा पार्टी एकता गरेर एकताकेन्द्र निर्माण हुँदा विद्रोही नेकपा (मसाल)को महासचिव भएर नेतृत्व गरेर आएको हुँ । अहिले मूल नेतृत्व अर्थात् अध्यक्ष पद मलाई चाहिन्छ भन्ने पक्षमा म छैन ।’
गजुरेलको यो भनाइ सिधै श्रेष्ठप्रति लक्षित देखिन्छ । श्रेष्ठले नेतृत्वको जिम्मा लिन पार्टीमा एकसे एक नेता भएको केही साताअघि बताएका थिए ।
संगठनको महत्त्वपूर्ण जिम्मेवारी र सरकारमा लामो समय पार्टीको नेतृत्व गरेका कृष्णबहादुर महरा पनि राजनीतिक तथा नैतिक संकट र शारीरिक अस्वस्थताका कारण नेतृत्व लिने अवस्थामा देखिन्नन् । बरु २०४० सालदेखि निरन्तर प्रचण्डको पक्षमा रहेका अर्का उपाध्यक्ष अग्नि सापकोटा प्रचण्डको नजरमा पर्न सक्छन् । प्रचण्ड युवा संघको अध्यक्ष भएदेखि अहिलेसम्म सापकोटाले बैठक, गुटको भेला वा कहीँ–कतै प्रचण्डको विरोध गरेको इतिहास नभेटिएको भनी पार्टीमा ‘लगत’ खोजिएको छ । यसको अर्थ पार्टीमा नेतृत्व छाड्नै परे आफूअनुकूल व्यक्तिलाई राख्ने भैपरी तयारी हो । विकल्पका रूपमा सापकोटा हुन सक्छन् ।
यद्यपि यसअघि आफूभन्दा शीर्ष वैद्य, समकालीन बाबुराम, बादल र सीपी गजुरेललाई समेत मूल नेतृत्वमा आउन रोक्ने सामर्थ्य राखेका प्रचण्डले पछिल्लोपटक पार्टीमा उत्पन्न तरंगलाई पनि सहजै रोकथाम गर्ने प्रचण्डको ‘बडील्याङ्ग्वेज’ले प्रस्ट पारेको छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...