
नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाईजहाज तथा हेलिकप्टरका पाइलटलाई एक सन्देश जारी गर्दै सुरक्षित उडान संस्कृतिको विकास गरेर नेपाली आकाश सुरक्षित राख्न आग्रह गरेका छन् ।
बुधवार एक भिडियो सन्देश जारी गर्दै अधिकारीले दृष्टिगत उडान नियममा उडिरहेका वायुयान बादलभित्र प्रवेश गर्न कानूनले नै प्रतिबन्ध लगाएको र यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
'यो कानूनको प्रभावकारी कार्यान्वयन तपाईंहरूको सहयोगबिना सम्भव छैन,' पाइलट र क्याप्टेनहरूलाई सम्बोधन गर्दै उनले भने, 'यस्तो अवस्थामा खराब मौसम वा बादलभित्र प्रवेश नगरिदिनु होला ।'
उनले नेपाल नागरिक उड्ययन प्राधिकरणद्वारा जारी गरिएको निर्देशनहरू पालना गर्नु उड्ययन क्षेत्रमा कार्यरत सबैको कर्तव्य रहेको पनि आफ्नो सन्देशमा बताएका छन् ।
'उडान सुरक्षामा वायुयान चालकको सक्रियतालाई प्राधिकरणले उच्च मूल्यांकन गरिरहेको छ,' उनले भनेका छन्, 'साथै पर्यटन क्षेत्रमा तपाईंहरूले गरिरहेको योगदानको हामी सबैले उच्च मूल्यांकन गरिरहेका छौं ।'
उनले सरकारद्वारा गठित अधिकांश दुर्घटना छानबिन आयोगले मानवीय त्रुटी नै दुर्घटनाको मूल कारण भनी औंल्याएको बताए ।
'हामी सबैको आपसी सहयोग सद्भाव र पहलकदमीमा सुरक्षित उडान संस्कृतिको विकास गरौँ र नेपाली आकाश सुरक्षित राखौं,' उनले आफ्नो सन्देशमा भनेका छन् ।