१० साउन २०८३, आइतबार

अक्वा त्रिदेव ब्रान्डको पानीमा कोलिफर्मः काठमाडौं महानगरले गर्‍यो दुई लाख जरिवाना

साउन ३०, २०८१
काठमाडौं
अक्वा त्रिदेव ब्रान्डको पानीमा कोलिफर्मः काठमाडौं महानगरले गर्‍यो दुई लाख जरिवाना

अक्वा त्रिदेव ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । 

तारकेश्वर नगरपालिका वडा नम्बर १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इन्डस्ट्रीले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएकाले जरिवाना गर्ने निर्णय गरिएको महानगरले बुधवार जनाएको छ ।   

निरीक्षण अधिकृत डा अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न पाँचवटा ब्रान्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । 

‘यसरी लिइएको नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो,’ उनले भने, ‘नमूना परीक्षणबाट मंगलवार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटियो ।’ 

प्रति १०० मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको खाद्य प्राविधिक अनिल बस्नेतले बताए । ‘सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ,’ उनले भने, ‘पानीमा सीएफयू ३०० भन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ 

कोलिफर्मको स्रोत मानव वा पशुको दिशा भएको खाद्य प्राविधिक बस्नेतले बताए । ‘यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो,’ उनले थपे ।  

निरीक्षण अधिकृत डा झाका अनुसार जरिवाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमूनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ । 

जार र बोतलको पानीमा कीरा, फोहोर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी पिउन आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्