१० साउन २०८३, आइतबार
संकटबाट उत्रिन प्रयासरत बंगलादेश

हसिनापछिको बंगलादेश– पुरानो घाउ मेटाउन प्रयास गर्दै युनुस सरकार, सहज छैन बाटो

साउन ३२, २०८१
काठमाडौं
हसिनापछिको बंगलादेश– पुरानो घाउ मेटाउन प्रयास गर्दै युनुस सरकार, सहज छैन बाटो

बंगलादेश छाडेर भारत निर्वासनमा पुगेकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वतन्त्रतापछि देशको सबैभन्दा शक्तिशाली र क्रुर तानाशाह थिइन् । दक्षिण एसियाका कुनै पनि शासकले चेष्टा नगरेको काम उनले गरिन् ।

आफ्ना धेरैजसो राजनीतिक प्रतिस्पर्धीलाई जेल हालिन्, देश निकाला गरिन् र केहीलाई मृत्युदण्डसमेत दिइन् । उनले बंगलादेशी राज्यका सबै अंगहरूलाई आफ्नो नियन्त्रणमा ल्याइन् र केही समयपछि उनी नै राज्य बनिन् ।

तर विद्यार्थीको नेतृत्वविहीन समूहले मिति र स्थान मात्र घोषणा गरेर जुलुस निकाल्यो । केही सातामै विद्यार्थीहरूले सिंगो देशलाई सडकमा उतार्न सफल भए, जसले गर्दा हसिना हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति आयो ।

करिब डेढ दशकदेखि सत्ता हातमा ल्याउन असफल भएका राजनीतिक प्रतिद्वन्द्वीहरूले गर्न नसकेको कुरा यी विद्यार्थीले गरे ।

आन्दोलनकारी र उनका समर्थक अहिले उत्साहित भएको भएपनि देशका लागि आगामी समय चुनौतीपूर्ण हुनेछ ।

एक सफल विद्यार्थी आन्दोलनको'रेसिपी'

हसिनाको पतनको शुरूआत तब भयो जब केही युवाहरूले सरकारी जागिरमा रहेको अन्यायपूर्ण कोटा प्रणाली अन्त्यको माग गरे । यो प्रणालीले उनको राजनीतिक सहयोगीका आफन्तहरूलाई विशेष सुविधा प्रदान गरिरहेको थियो ।

विरोध प्रदर्शनको आयोजना गर्दा विद्यार्थीहरूले विकेन्द्रित संरचना बनाएका थिए, जहाँ नेताहरू समन्वयकको भूमिकामा थिए ।

उनीहरूले आफ्नो गठबन्धनलाई 'विद्यार्थीहरू विरुद्ध भेदभाव आन्दोलन' नाम दिए । समन्वयकहरू सरकारी र निजी शैक्षिक संस्थानहरूबाट आएका थिए ।

केही सामान्य सुधारको प्रतिज्ञाले शान्त पार्न सकिने यो आन्दोलनलाई प्रधानमन्त्रीको अशिष्ट टिप्पणी र सुरक्षा बलद्वारा भएको क्रुर दमनले झनै भड्कायो । तर, आन्दोलनको समन्वयकारीहरू अनुभवयुक्त थिए र के हुने भनेर उनीहरूलाई राम्रोसँग थाहा थियो ।

छ वर्षअघि भएको आन्दोलनमा  उनीहरूमध्ये धेरैले भाग लिएका थिए, जुन देशको 'अराजक' यातायात क्षेत्रमा केन्द्रित थियो ।

त्यतिबेलाको आन्दोलन एक बसले दुई विद्यार्थीलाई किचेर मारेको घटनापछि शुरू भएको थियो । उक्त बस एक मन्त्रीका आफन्तसँग जोडिएको कम्पनीको थियो ।

२०१८ मा जस्तै २०२४ मा पनि हसिनाको विद्यार्थी मिलिसिया अर्थात् अवामी लीग पार्टी सम्बद्ध विद्यार्थी संगठनले आन्दोलनकारीलाई निर्दयतापूर्वक कुटपिट गरेको थियो ।

हिंसाको प्रयोगले प्रदर्शन केही हदसम्म कमजोर त बन्यो तर आन्दोलनकारीले सफल विरोध प्रदर्शनको आयोजना गर्न, वैकल्पिक नेतृत्व संरचना सिर्जना गर्न, इन्टरनेट ब्लक भएमा प्रयोग गर्न सकिने सञ्चार प्रविधि प्रयोग गर्न र सरकारी निगरानीबाट बच्न उपाय खोजिसकेका थिए ।

यी सबै उपायले बंगलादेशको इतिहासमा सबैभन्दा क्रुर तानाशाहलाई हटाउन मद्दत गरे ।​

शेख हसिनाको अन्त्य ?

हसिनाले यसअघि पनि बंगलादेश छाड्नुपरेको थियो । उनी युरोपमा बसिरहेका बेला १९७५ मा उनको बुबा राष्ट्रपति शेख मुजीबुर रहमानविरुद्ध कू भएको थियो, जसमा उनको परिवारका धेरै सदस्य मारिएका थिए ।

उनले विदेशमा आफ्नो बसाइ लम्ब्याइन् र १९८० को दशकको शुरूआतमा मात्रै देश फर्किन् । हसिनाले छिट्टै राजनीतिक क्षेत्रमा सफलता हासिल गरिन् र अवामी लीगका सदस्यहरूबीच एक प्रकारको पूजनीय स्थान बनाइन् ।

२००६ मा भएको सैनिक कूपछि हसिना र उनको मुख्य राजनीतिक प्रतिद्वन्द्वी खालिदा जिया दुवैलाई बंगलादेशको राजनीतिमा भाग लिनबाट वञ्चित गरिएको थियो ।

जियाले देश छाड्न अस्वीकार गरिन् र सेनाको नजरबन्दमा बसिन् ।

हसिनाले सुरक्षित बाटो रोजिन्, युरोप र संयुक्त राज्य अमेरिकामा समय बिताइन् । उनी २००८ को चुनावमा भाग लिन बंगलादेश फर्किइन् र ठूलो मतान्तरले जितिन् ।

तर, २००८ मा भएको उनको विजयी पुनरागमन अब दोहोरिने सम्भावना नगण्य छ ।

उनको शासनकालमा भएको ठूलो रक्तपात र अन्धाधुन्ध गोलाबारीलाई ध्यानमा राख्ने हो भने ७६ वर्षीया हसिनाका लागि यसपटक आफ्नो राजनीतिक भाग्य पुनर्जीवित गर्ने सम्भावना लगभग अन्त्य भएको छ ।

हसिनालाई देश छाड्न भनेका सैनिक प्रमुख जनरल वाकर उज जमन उनका आफन्त पनि हुन् ।

बंगलादेशमा कुनै पनि राजनीतिक व्यक्तिले जनआक्रोश सामना गर्दै देश छाड्नुपरेको उदाहरण यो पहिलो हो । यसले उनको छवि स्थायीरूपमा क्षतिग्रस्त भएको छ ।

हसिनालाई लाठी र इँटा बोकेका लाखौं युवाहरूले खेदेका थिए, जतिबेला उनका मानिसहरूले अन्धाधुन्ध गोली चलाउँदै थिए । यो अपमानजनक बिदाइले उनको राजनीतिक पुनरागमनलाई असम्भव बनाउनेछ ।

बंगलादेशका लागि आगामी समय

हसिनाका मुख्य विरोधी डा. मोहम्मद युनुसको नेतृत्वमा १६ सदस्यीय सल्लाहकार प्यानल गठन भएको छ । यस प्यानलमा अन्तर्राष्ट्रिय प्रशंसा पाएका देशका प्रमुख नागरिक र समाजका प्रतिनिधिहरूलाई समावेश गरिएको छ ।

डा. युनुस र उनका सल्लाहकारहरूले अहिलेसम्म सकारात्मक मिडिया र जनस्वीकृति पाएका छन्, तर उनीहरूको अगाडिको समय चुनौतीपूर्ण छ । अहिले आन्दोलनकारीले बंगलादेशी राजनीतिलाई भ्रष्टाचारसँग जोडिएका नेताबाट अलग गर्न खोजिरहेका छन् ।

हसिनाको राजनीतिक 'डीएनए' उनले छाडेको बंगलादेशको हरेक कुनामा पाइन्छ । उनले नियुक्त गरेका न्यायाधीश, कर्मचारी, प्रहरी र सैनिक कमान्डर अझै पनि सत्तामै छन् ।

जनतालाई नयाँ सरकार स्वीकार्य बनाउन प्रशासनिक पुनर्संरचना र हसिनाले नियुक्त गरेका कर्मचारी पक्राउको जटिल प्रक्रिया आवश्यक छ, जुन अहिले शुरू भइसकेको छ ।

डा. युनुसले आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा हसिनाको शासनकालमा राज्यका तर्फबाट भएका अन्धाधुन्ध हत्याका पीडितहरूलाई न्याय दिलाउने वाचा गरेका छन् ।

अन्तरिम सरकारका नयाँ सल्लाहकारहरूले पनि यस उद्देश्यलाई दोहोर्‍याएका छन् । तर, यो प्रक्रियामा लामो समय लाग्ने पक्का छ । उनीहरूको नेतृत्वमा पूरा हुनसक्छ कि सक्दैन त्यो पनि स्पष्ट छैन ।

डा. युनुसले भारत र चीनसँगको सम्बन्धमा पनि विभिन्न चुनौतीहरूको सामना गर्नुपर्नेछ ।

भारत, जसले विश्व मञ्चमा हसिनाको प्रमुख रक्षकको भूमिका निभाएको थियो, उनको पतनले स्तब्ध र दुखित भएको छ । बंगलादेशमा भारतको ठूलो सुरक्षा चासो छ । अल्पसंख्यक हिन्दूमाथि भएको हिंसालाई लिएर भारत चिन्तित पनि छ ।

बंगलादेशका प्रमुख हिन्दू समुदायका नेतामध्ये एक गोविन्द चन्द्र प्रमाणिकले भारतीय भयलाई शान्त पार्ने प्रयास गरेका छन् ।

उनले एक सम्बोधनमा हालै देशमा भइरहेको अराजकतामा हिन्दूजस्तै अन्य व्यक्ति पनि समान रूपमा पीडित रहेको र अहिले अवस्था क्रमशः सुधार हुँदै गइरहेको बताएका छन् ।

हसिनाको भू-राजनीतिक खेलको कसरत भनेको अमेरिकी मानव अधिकारको चासोलाई सम्बोधन गर्दै भारतको सुरक्षा चिन्तालाई सम्बोधन गर्नु र चीनको व्यापारिक हितलाई प्रवर्द्धन गर्नु थियो ।

अब भविष्यको सरकार भारतीय सुरक्षा चिन्ता कम गर्न व्यस्त हुनसक्छ, जबकि अमेरिकाको चासो दोस्रो प्राथमिकताको विषय बन्नेछ ।

अन्तरिम सरकारको मुख्य काम नयाँ चुनाव गराउनु हो । हत्या र मानव अधिकार उल्लङ्घनका लागि ट्राइब्यूनलको मागले अवामी लीगको भविष्यको चुनावी सहभागितालाई जटिल बनाउनेछ ।

अन्य राजनीतिक दलहरूले पनि कानूनी कठिनाइहरूको सामना गर्नुपर्नेछ, किनभने हसिनाले विपक्षीहरूलाई चुनाव लड्न असक्षम बनाउन लगाइएका आरोपहरू गम्भीर र आपराधिक छन् ।

यी सबै कठिनाइ हेर्दा बंगलादेशमा वर्तमान अन्तरिम सरकार केही महिना वा कम्तीमा एक वर्ष टिक्न सक्ने सम्भावना छ । शपथ ग्रहण गर्दा सल्लाहकारले आफ्नो कार्यकालको अवधिबारे कुनै संकेत दिएका थिएनन् ।

धेरै बंगलादेशीहरूले हसिनालाई हटाउनुलाई आफ्नो दोस्रो स्वतन्त्रता मानिरहेका छन् - पहिलो स्वतन्त्रता ५३ वर्षअघि पाकिस्तानबाट छुट्टिँदा प्राप्त भएको थियो ।

अलजजीराका लागि भूराजनीति विज्ञ सफाकत राबीले लेखेको लेख लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्