
तीन वर्षको अवधिमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी १४४ प्रतिशतले वृद्धि भएको छ । प्रवक्ता रमेश पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ % ले वृद्धि गरेको जानकारी गराएका हुन् ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आ.व २०७८/७९ मा रु.१६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ । त्यसैगरी आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको विज्ञप्तिमा उल्लेख छ ।
निगमका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूमा आएका समाचारहरूबाट आम जनमानसमा सिर्जना भएको भ्रम निवारण गर्नका लागि जारी गरिएको भनिएको विज्ञप्तिमा अन्तर्राष्ट्रियतर्फ ३ वटा जहाज नियमित सञ्चालनमा रहेको उल्लेख गरिएको छ । यस्तै एउटा जहाज इटालीमा सी–चेक मेन्टेनेन्स भएर यही अष्टभित्र आइपुग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्तै आन्तरिक तर्फ एउटा ट्विनटर जहाज नियमित सञ्चालनमा रहेको र अर्कोको इन्जिन मर्मत गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको निगमले जनाएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानको लागि खरिद भएका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये निगमको वर्तमान नेतृत्वले व्यवस्थापन सम्हाले पश्चात २०८१ आषाढसम्मको अवधिमा ५ अर्व ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।