०३ साउन २०८३, आइतबार

थामे बाढीले नाम्चेभन्दा माथिको आवतजावत ठप्प, ९३ जनाको उद्धार

भदौ १, २०८१
सोलुखुम्बु
थामे बाढीले नाम्चेभन्दा माथिको आवतजावत ठप्प, ९३ जनाको उद्धार

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवतजावत ठप्प भएको छ ।

शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटर जति पदमार्ग नदीको कटानमा परेको छ ।

जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवतजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनले बताए ।

थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोशी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए ।

उनले भने, 'थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टीभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गाह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्त लाग्दो छ ।'

बाढीले  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्य चौकी र विद्यालय बगाएको थियो ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धार गरी आर्मी क्याम्प पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।​

यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ ।

शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौंबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो ।

निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्