०४ साउन २०८३, सोमबार

तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ आयोजना गर्दै भारत

भदौ १, २०८१
नयाँ दिल्ली
तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ आयोजना गर्दै भारत

भारतले शनिवार ’भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ (भीओजीएसएस)को तेस्रो संस्करण आयोजना गर्नेछ । यो सम्मेलन भारतको ’वसुधैव कुटुम्बकम्’ को दर्शनमा आधारित कार्यक्रम हो। 

यो शिखर सम्मेलन प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एकसाथ, सबैको विकास, सबैका विश्वास र सबैका प्रयास’ दृष्टिकोणको विस्तारित रुप रहेको  विदेश मन्त्रालयले यस हप्ताको शुरूमा एक विज्ञप्तिमार्फत जनाएको थियो । 

यस सम्मेलनले विश्वव्यापी मुद्दामा आफ्नो विचार र प्राथमिकता एकअर्कासँग साटासाट गर्न ग्लोबल साउथका सबै राष्ट्रलाई एकसाथ ल्याउने परिकल्पना गरेको छ । 

‘दिगो भविष्यका लागि एक सशक्त ग्लोबल साउथ’को नारासहित आयोजना हुन लागेको तेस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनमा विश्वलाई असर गर्ने जटिल चुनौतीहरू जस्तै द्वन्द्व, खाद्य र ऊर्जा सुरक्षा सङ्कट, जलवायु परिवर्तनको विषयमा छलफल हुनेछ । 

विदेश मन्त्रालयले हिजो ग्लोबल साउथका सबै देशलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेको बताएको छ। 

शिखर सम्मेलनमा विशेषगरी ग्लोबल साउथको क्षेत्रीय विकासमा चुनौती, प्राथमिकता र समाधानका लागि छलफल हुनेछ । 

भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनको तेस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख–सरकार तहमा हुनेछ र प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नेछन् ।

भारतले सन् २०२३ को जनवरी १२–१३  मा पहिलो र सन् २०२३ नोभेम्बर १७ मा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन आयोजना गरेको थियो ।

यस सम्मेलनका अघिल्ला दुवै संस्करणहरूमा ग्लोबल साउथका १००  भन्दा बढी देशहरूको सहभागिता रहेको थियो । 

यी दुई शिखर सम्मेलनमा विकासोन्मुख देशका नेताहरूबाट प्राप्त सुझाव र प्रतिक्रिया गत वर्ष भारतको अध्यक्षतामा जी–२० शिखर सम्मेलनको एजेन्डा र छलफलमा प्रतिबिम्बित भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्