
सप्तरीको बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरोप लगाइएको छ ।
बोदेबरसाइन नगरपालिका–९ देउरीमा आर्थिक वर्ष २०७७/७८ मा मधेस प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार कार्यालय सिरहा, सम्पर्क कार्यालय राजविराजले रु २५ लाखको लागतमा देउरीबाट लबटोलियासम्मको बाटो ग्राभेल गरिएको थियो । नगरपालिकाले पनि उपभोक्ता समिति बनाएर सोही आवमा रु ४४ लाख खर्च भएको देखाएको आरोप लगाइएको हो ।
नगरपालिकाले सडक बोर्ड नेपालबाट विनियोजन रु ४४ लाखको लागतमा देउरी जनकल्याण प्रावि लबटोलिया, स्वर्ण नदी हुँदै सिमराहा डिहबार थानसम्म सडक स्तरोन्नतिका नाममा कामै नगरी अनियमितता गरेको उपभोक्ता समितिकै अध्यक्षले आरोप लगाएका हुन् ।
नगरपालिकाले सडक स्तरोन्नतिका लागि गठन गरिएको भनिएको उपभोक्ता समितिका अध्यक्ष राकेश साहले आफ्नो नाममा फर्जी उपभोक्ता समिति खडा गरेर कामै नगरी रकम हिनामिना गरेको आरोप लगाए। उनले आफ्नो नाममा फर्जी उपभोक्ता समिति गठन गरी अनियमितता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरीसमेत दिएका छन् । उजुरीमा समिति सदस्य भनिएका योगेन्द्रप्रसाद साह तेली र सदस्य ललितादेवी साहले समेत हस्ताक्षर गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले उजुरी दर्ता भएको जनाएको छ । कार्यालयको उजुरी शाखाका नायबसुब्बा प्रकाश देवकोटाले साउन २३ गते दुवै कार्यालयलाई आवश्यक कागजात पठाउन पत्राचार गरिएको जानकारी दिए ।
सडक बोर्डबाट रु २८ लाख र नगरपालिकाको पुँजीगततर्फ रु १५ लाख ९३ हजार गरी रु ४३ लाख ९३ हजार खर्च भएको नगरपालिकाले देखाएको छ ।