२४ असार २०८३, बुधबार

शेयर धितो कर्जा प्रवाह १८ प्रतिशतले बढ्यो, अझै बढ्ने सम्भावना उच्च

भदौ ३, २०८१
काठमाडौं
शेयर धितो कर्जा प्रवाह १८ प्रतिशतले बढ्यो, अझै बढ्ने सम्भावना उच्च
फाइल फोटो

एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह १८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह १८.१ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले कुल ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । जुन १३ अर्ब ७८ करोड ४९ लाख अर्थात् १८.१ प्रतिशतले बढी हो । 

नेपाल राष्ट्र बैंकले गत असोज (२०८०)मा शेयर धितो कर्जाको १२ करोडको सीमालाई बढाएर व्यक्तिगत तर्फ १५ करोड र संस्थागत तर्फ २० करोडसम्म पुर्‍याएको थियो ।

सीमा बढाएपछि लगानी कर्ताहरूले शेयर धितो कर्जा प्रवाह बढ्ने बताएका थिए । तर, गत आर्थिक वर्षको मङ्सिर महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ८१ अर्ब १८ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका थिए । 

यता गत जेठ मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको देखिन्छ । भने असारसम्म आई पुग्दासम्म  उक्त शेयर धितो कर्जा करिब ४ अर्बले बढेको छ ।

मङ्सिर महिनादेखि जेठ महिनासम्म आइपुग्दाको करिब ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ६ अर्ब रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन् ।

जुन हिसाबले औसत प्रत्येक महिना करिब १ अर्ब लगानी भएको देखिन्छ ।जेठ महिनादेखि असारसम्म आइपुग्दा करिब ४ अर्बले शेयर धितो कर्जा बढेको छ । 

चालू आर्थिक वर्षको मौद्रिक नीतिले  शेयर धितो कर्जाका लागि संस्थागत तर्फको २० करोडको सीमालाई हटाएको छ ।

जसले गर्दा शेयर धितो राखेर कर्जा लिने क्रम बढ्ने लगानीकर्ताहरूले बताएका छन् । यसका साथै अहिले शेयर बजारमा पनि आइरहेको निरन्तरको उछालले गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरूबाट यस्तो शेयर धितो कर्जाको माग बढ्दै गइरहेको बैंकर्सहरूले बताउँदै आएका छन् ।

अबको केही महिनासम्म शेयर धितो कर्जाको माग बढिरहने नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन् । उनका अनुसार शेयर धितो कर्जामा प्रवाह केही समयका लागि बढे पनि पछि आफै कम हुँदै जानेछ ।

उपाध्यक्ष कोइरालाले भने, ‘पछिल्लो समय मौद्रिक नीतिपछि केही हदसम्म शेयर धितो कर्जाको माग बढेको जस्तो देखिएको हो । तर बैंकहरूले आ-आफ्नो पोलिसीअनुसार यस्तो कर्जा प्रवाह गर्ने हुन् । केही समय शेयर धितो कर्जाको माग बढ्ने देखिन्छ । त्यसपछि आफैं कम हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्