
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुककाे समृद्धिका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन् ।
राप्रपाको प्रवासी सङ्गठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उनले बताएको उनको सचिवालयले जनाएको छ ।
उनले गत चुनावको दृष्टान्त उल्लेख गर्दै देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताए ।
त्यस अवसरमा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजङ्ग कार्कीलगायत सहभागी भएका थिए । उनीहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष शेष घलेले लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला भेट भएको स्मरण गर्दै नेपालमा विदेशी लगानीकर्तामैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।
अध्यक्ष लिङ्देन यही भदौ १० गते स्वदेश फर्किने तालिका छ ।