२८ जेठ २०८३, बिहीबार

रामेछापका ३ सय बढीलाई छात्रवृत्ति वितरण

भदौ ४, २०८१
रामेछाप
रामेछापका ३ सय बढीलाई छात्रवृत्ति वितरण

रामेछापको मन्थली नगरपालिका– १ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहनदार छात्राहरूलाई छात्रवृत्ति वितरण गरेका छन्।

उनले जेहनदार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गरेका हुन् ।

ती विद्यालयले छनोट गरेका गरिब तथा जेहनदार छात्रामध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक दिइएको छ ।

उनले ग्रामीण भेगमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता कम भएकाले छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने मूल सन्देश दिन गरिब तथा जेहनदार छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भनि विगत आठ वर्षअघिदेखि सहयोग गर्दै आइरहेको बताए ।

पूर्ण छात्रवृत्तिअन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद, विद्यालय पोसाक र झोला वितरण गरिएको छ भने आंशिकतर्फ विद्यालय पोसाक, झोला र एक वर्षलाई पुग्ने कापी, डटपेन वितरण गरिएको छ ।

सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहनदार छात्रालाई पठनपाठनका लागि सहज भएको मन्थली माविको कक्षा ७ मा अध्ययनरत छात्रा इन्दिरा बुढाथोकीले बताइन् । 

भैरवी मावि सुनारपानीमा अध्ययनरत छात्रा गीता कार्कीले आफूजस्ता विद्यार्थी यस कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँछिन् ।

'गाउँमा अझै छोराछोरीबीचको विभेद कायम छ, छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरिन्छ,' तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले भने, 'शैक्षिक सामग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकलाई यस कार्यक्रमले सहयोग पुगेको छ ।'

आठ वर्ष अघिदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गदै आएका सुवेदी परिवारको यस वर्षको कार्यक्रम नवौं हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष रु १० लाख भन्दा बढी खर्च हुने गरेको छ । 

छात्रवृत्ति पाउने क्याम्पस तथा विद्यालयमा मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसका छ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, सेतीदेवी मावि सालु, भैरवी मावि सुनारपानी र सिद्धेश्वर मावि गैराथोकका  १०/१० जना  विद्यार्थी रहेका छन् ।

त्यसैगरी  जनविजय आधारभूत विद्यालयका ५७, हरिसिद्धी मावि चौकीघर फुलासीका ६२ र मावि चिण्डे फूलासीका एक सय १३  गरी कुल तीन सय १२ जना छात्रा यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्