२३ जेठ २०८३, शनिबार

पार्टीको ह्वीप उल्लंघन गरिन् माओवादी सांसद केसीले

पार्टीले स्पष्टीकरण सोध्छ– प्रमुख सचेतक थारू
भदौ ४, २०८१
बुटवल
पार्टीको ह्वीप उल्लंघन गरिन् माओवादी सांसद केसीले

नेकपा (माओवादी केन्द्र)की लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेकी छिन् । मंगलवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदा उनले पार्टीको ह्वीप उल्लंघन गरेकी हुन् ।

बैठकमा सहभागी भए पनि सांसद केसीले पक्ष र विपक्षी कतै पनि मत विभाजनमा सहभागी भइनन् । पार्टीले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि उनले त्यसलाई अटेर गरेकी हुन् । यसअघि माओवादी केन्द्रले बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थिति भएर विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । 

केसी बाँके क्षेत्र नम्बर १ (क)बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित एकमात्र महिला सांसद हुन् ।

विशेष कारणले बैठकबाट बाहिर निस्कँदा मतदान छुटेको बताइन् । ‘मेरो आन्तरिक समस्याले गर्दा बाहिर निस्किएको बेलामा मतविभाजन भएछ,’ केसीले लोकान्तरसँग भनिन्, ‘पार्टीको नीतिविपरीत होइन । मतदान चाहिँ छुटेको हो । फेरि उनी (सत्तापक्ष)हरूको मत पुगिहालेको थियो ।’ 

बैठकमा हाजिर गरेर मतदानमा सहभागी नभएपछि तटस्थ अवस्था भन्ने बुझिन्छ । माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारूले मतदानमा सहभागी नभएपछि उहाँ (केसी)लाई स्पष्टीकरण सोध्ने बताए । ‘थाहा नभएर हो कि संसदको महत्व नबुझेर हो मलाई थाहा भएन,’ थारूले लोकान्तरसँग भने, ‘सदनमा सहभागी भएर पार्टी निर्देशन उल्लंघन गर्नेलाई पार्टी स्पष्टीकरण सोधेर थप काम–कारबाही अघि बढाउँला ।’ 

मुख्यमन्त्री आचार्यले मंगलवार विश्वासको मत लिँदा पक्षमा ७० र विपक्षमा ११ मत परेको छ । पूर्वमन्त्रीसमेत रहेकी केसीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३ सांसद पनि तटस्थ बसेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्