२२ असार २०८३, सोमबार

गगनको दाबीः कांग्रेस-एमालेकाे गठबन्धन साढे ३ वर्ष नै चल्छ, कुनै उथल-पुथल हुँदैन

भदौ ४, २०८१
बुटवल
गगनको दाबीः कांग्रेस-एमालेकाे गठबन्धन साढे ३ वर्ष नै चल्छ, कुनै उथल-पुथल हुँदैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दल र नेकपा (एमाले)ले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताएका छन् । मंगलवारदेखि लुम्बिनीमा शुरू भएको रुपन्देही कांग्रेसको प्रशिक्षणमा उनले विगतमा पनि कांग्रेस र एमाले मिलेर बनाएका सरकारले उद्देश्य पूरा गरेको स्मरण गरे । 

महामन्त्री थापाले कांग्रेस र एमालेबीचकाे गठबन्धन अबको साढे तीन वर्ष नै चल्ने र कुनै उथल–पुथल नहुने दाबी गरे । 

‘कांग्रेस र एमालेको सरकार अहिले पहिलोपटक बनेको होइन । यसभन्दा अघि २०४७, २०५६, २०६२/६३ र २०७० सालमा दुई दल मिलेर सरकार बनेका थिए । त्यो बेला जे गर्छौँ भनेका थिए, त्यो पूरा भएका छन् । अहिले पनि भनेको कुरा पूरा हुन्छ,’ उनले भने, ‘यो गठबन्धन साढे तीन वर्षसम्म नै चल्छ ।’ 

महामन्त्री थापाले संविधान गतिशील दस्तावेज भएकाले समयको आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्नेमा जोड दिँदै संविधानलाई चलायमान बनाउन आवश्यक रहेको बताए । उनले अहिलेको संघीयता नक्कली भएको भन्दै संविधान संशोधन गरेर सक्कली संघीयता कार्यान्वयनमा ल्याउने प्रष्ट पारे ।

रुपन्देही कांग्रेसले शुरू गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै हुने महामन्त्री थापाले जानकारी दिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य भरत शाहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएको बताए  । 

लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरू जनताभन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए । 

कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशील बनाउने बताए । तीन दिनसम्म चल्ने कार्यक्रममा डा गोविन्द पोखरेल, डा सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिनेछन् । 

कार्यक्रमको समापनका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्