
त्रिभुवन राजपथअन्तर्गत काठमाडौंको नागढुङ्गास्थित नागमन्दिरनजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक चार घण्टा बितिसक्दा पनि खुल्न सकेको छैन । बुधवार दिउँसो ३ बजेसम्म पनि खुल्न नसकेको हो ।
पहिरो खस्ने क्रम जारी रहेकाले सडकको अवरोध खुलाउन समस्या भइरहेको नागढुङ्गाका प्रहरी निरीक्षक हेम थपलियाले लोकान्तरलाई जानकारी दिए ।
नेपाल प्रहरी, चन्द्रागिरि नगरपालिका, सडक डिभिजन कार्यालय लगायतका डोजरले सडक खुलाउने काम भइरहेको उनले बताए ।
'पानी पर्ने क्रम जारी छ । यसले गर्दा पहिरो खसिरहेको छ । पहिरो खसिरहँदा सडक खुलाउन समस्या भइरहेको छ । तैपनि हाम्रो प्रयास जारी छ,’ प्रहरी निरीक्षक थपलियाले भने ।
बुधवार बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुङ्गा–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएसँगै नौबीसे हुँदै काठमाडौं आउने र काठमाडौं हुँदै नौबीसेतिर जाने सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।