२३ जेठ २०८३, शनिबार

लेबनानमा इजरायली आक्रमणः फताह समूहका स्थानीय नेताको मृत्यु

भदौ ५, २०८१
काठमाडौं
लेबनानमा इजरायली आक्रमणः फताह समूहका स्थानीय नेताको मृत्यु

सिदोन– लेबनानको दक्षिणी शहर सिदोनमा बुधवार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् ।

इजरायल र लेबनानको हिजबुल्लाह आन्दोलनबीच १० महिनाभन्दा बढी समयदेखि जारी सीमापार झडपमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा रहेको फताहविरुद्ध भएको यो पहिलो आक्रमण हो ।

गाजाको प्यालेस्टिनी इस्लामी शासक हमासलाई टक्कर दिने समूहका एक वरिष्ठ सदस्य फाथी अबु अल–अरादातले भने, ‘सिदोनमा इजरायलले गरेको आक्रमणमा फतह समूहका अधिकारी खलील मकदाहको मृत्यु भएको छ ।’ 

लेबनानको एक सुरक्षा स्रोतले एएफपीलाई घटनाबारे पुष्टि गर्दै मकदाहको कारमा ड्रोन आक्रमण भएपछि उनको मृत्यु भएको बताएको छ । 

घटनास्थलमा रहेका एएफपी संवाददाताका अनुसार प्यालेस्टाइनको ऐन अल–हेल्वेह र मिह–मिहको शिविरनजिकै एउटा कारलाई ठक्कर दिइएको थियो ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार मकदाहको कारमा भएको ड्रोन आक्रमणबाट मृत्यु भएको हो ।

फताहको सशस्त्र शाखा अल अक्सा शहीद ब्रिगेडको लेबनानी शाखाका प्रमुख मौनीर मकदाहले सञ्चारमाध्यम अल मायादीनसँग ‘आफ्ना भाइ’ खलीलको हत्या भएको बताएका छन् । 

खलील अल–अक्सा शहीद ब्रिगेडका कमान्डर रहेको मकदाहले बताए । 

प्यालेस्टिनी लडाकू समूहले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि गाजा युद्ध चर्किएपनि हिजबुल्लाह र उसका सहयोगीहरूले आफ्नो सहयोगी हमासको समर्थनमा इजरायलविरूद्ध नियमित आक्रमण गर्दै आएका छन् ।

तर फताहले लेबनानबाट इजरायलमाथि कुनै पनि आक्रमणको घोषणा गरेको छैन, न त लेबनानमा इजरायली आक्रमणमा मारिएका सदस्यहरूप्रति शोक व्यक्त गरेको छ ।

सन् २००६ को चुनावमा हमासको शानदार विजयपछि भएको घातक भिडन्तपछि हमासका लडाकुहरूले गाजापट्टीबाट फताहलाई बाहिर निकालेपछि हमास र फताह कटु प्रतिद्वन्द्वी बनेका छन् ।

फताहले प्यालेस्टिनी प्राधिकरणको नेतृत्व गर्छ, जसको इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण छ ।
 

salt training

कमेन्ट गर्नुहोस्